गणतान्त्रिक नेपालको स्थानीय तहको दोस्रो निर्वाचनका लागि दलहरु व्यस्त छन् । निर्वाचन आयोगले आफ्नो तालिकाअनुसार तयारी गरिरहेको छ । मतपत्र छपाई, मतदान सामग्री ढुवानी तथा निर्वाचन कार्यालयको स्थापनालगायतका काम भइरहेका छन् । यता दलहरु पनि उम्मेद्वार छनौटको काम लागेका छन् । कतिपय स्थानका लागि उम्मेद्वार छनौटका लागि गठबन्धनका दलहरु छलफलमै छन् । उम्मेद्वारी दर्ताको अन्तिम समयसम्म कसलाई टिकट दिने भन्ने कुराको अन्यौलता छ । जित्ने व्यक्तिलाई दिनुपर्ने दवावमा नेतृत्व छ भने अर्कोतर्फ आफन्त र आफ्नालाई मौका दिनुपर्ने उद्देश्य पनि छ । यही कारण उम्मेद्वार छनौटमा विलम्ब भइरहेको यथार्थ हो । कार्यकर्ताले रुचाएको व्यक्ति छान्ने भन्दा पनि चुनावमा खर्च गर्न सक्ने, साम, दाम र दण्ड प्रयोग गरेर भए पनि निर्वाचित हुनसक्ने उम्मेद्वारको खोजी गर्दा ढिला भएको छ ।

उम्मेद्वार बन्नका लागि दलहरुले तोकेको विधिभन्दा पछिल्लो समय मनी र मसल भएकासँग नेतृत्व झुक्नुपर्ने अवस्था एकातर्फ बनेको छ भने अर्कोतर्फ उम्मेद्वार बन्न चाहनेले पनि आफ्नो हिजोको हैसियतलाई बिर्सिएका छन् । राजनीति गर्नु भनेको इज्जत प्रतिष्ठा हो । सधैं सत्ता, शक्ति र धनदौलतमात्र हैन । तर स्थानीय तहको निर्वाचनमा टिकट लिनेहरुको लाइन हेर्दा राजनीति प्रतिष्ठाभन्दा पनि पद, पैसा र शक्तिमात्र हो भन्ने देखिएको छ । उपल्लो तहमा पुगेर प्रतिष्ठा कमाएकाहरुले समेत स्थानीय तहको निर्वाचनका लागि दौडधुप गरे । कतिपयले त टिकट नै प्राप्त गरेका छन् । संघीय मन्त्री, प्रदेश मन्त्रीदेखि सांसदहरुसमेत स्थानीय तहको उम्मेद्वारका लागि तयार भएका छन् ।

संघ र प्रदेशमा मन्त्री भइसकेका केशव स्थापित काठमाडौंको मेयरमा भिड्दैछन् । मेयर पद भन्दा पदीय मर्यादामा उपल्लो स्थानमा पुगेका स्थापितलाई मर्यादाभन्दा शक्ति र महानगरको ठूलो बजेटले आकर्षण गरेको देखिन्छ । उनी काठमाडौंको मेयरमा परीक्षण भइसकेका हुन् भने संघ र प्रदेशमा मन्त्री भएर आफ्नो क्षमता देखाउने मौका पाएका हुन् । व्यक्तिका भिजन कार्यान्वयन गर्न पद नै पर्याप्त हुन्छ, बजेट व्यवस्थापन दोस्रो पक्ष हो । तर बजेट आफैंले खेलाउने चाहनामाथि प्रश्न गर्ने अधिकार नागरिकलाई छ । यस्तै नेपालको संविधान बनाउने काममा भूमिका खेलेर मेयरभन्दा माथिल्लो हैसियत बनाएकाहरु तल्लो तहका लागि किन मरिहत्ते गर्दछन् । राजनीतिमा प्रतिष्ठाको भर्‍याङ चढ्नुपर्नेमा बजेट परिचालनको लोभमा भर्‍याङका खुड्किला ओर्लने काम गरिरहेका छन् ।

संविधानसभा सदस्य भएर नेपालको संविधान निर्माणमा भूमिका खेलेकामध्ये अनन्त पौडेल हेटौंडा उपमहानगरपालिकाको मेयरमा भिड्दैछन् । पदीय मर्यादामा आज पनि संविधानसभा सदस्य रहेका उनी आफूभन्दा निकै फुच्चे पदवालासँगको प्रतिस्पर्धाका लागि लामो समयदेखि लविङ गर्दै आएर टिकट लिन सफल भएका हुन् । भरतपुर महानगरपालिकाका मेयरदेखि देशभरका धेरै स्थानीय तहमा माथिल्लो पदमा पुगेकाहरु फर्किएका छन् । उनीहरु काम गर्न सक्षम होलान्, तर पदकै लागि किन मरिहत्ते भन्ने प्रश्न हो । नागरिकको सेवा गर्न हिजो पुगेका पदहरु नै पर्याप्त थिए । उनीहरुमा क्षमता थियो भने त्यही पदलाई उपयोग गर्न सक्नुपर्ने हो । पैसाकै लागि पदको खोजी हुनु नेपाली राजनीतिको दुर्भाग्य बनेको छ ।