उम्मेदवारी दर्ता गराउँदै ।

हेटौंडाः आसन्न स्थानीय तह निर्वाचनका लागि मकवानपुरका पालिकामा विभिन्न दलले पहिलो दिन आइतबार उम्मेदवारी दर्ता गराएका छन् । पहिलो दिन बकैया र बागमती गाउँपालिकामा भने कसैले पनि उम्मेदवारी परेन । दुवै पालिकामा खटिएका निर्वाचन अधिकृतका अनुसार पहिलो दिन कसैले पनि उम्मेदवारी दर्ता गराउन नआएको जनाएका छन् ।

ईन्द्रसरोवर गाउँपालिकामा ५ नम्बर वडा अध्यक्षका लागि राजन लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । मकवानपुरगढी गाउँपालिकामा अध्यक्षका लागि दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट कृष्णप्रसाद कँडेल र मंगोल नेशनल अर्गनाइजेसनबाट युवराज लामाले उम्मेरदवारी दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाइजेसनबाट १ नम्बर वडा अध्यक्षमा दिनेश कुमार स्याङतान र महिला सदस्यमा दुधकुमारी स्याङ्तानले उम्मेदवारी दर्ता गराएका छन् ।

राक्सिराङ गाउँपालिकामा अध्यक्षका लागि मंगोल नेशनल अर्गनाइजेसन पार्टीको तर्फबाट सुनिस मोक्तानले उम्मेदवारी दर्ता गराउनुभएको छ । मोक्तानको प्रस्तावकमा सिंह बहादुर मोक्तान र समर्थकमा चन्द्र बहादुर मोक्तान रहेका छन् ।

कैलाश गाउँपालिकामा पालिका अध्यक्षका लागि नेपाल मजदुर किसान पार्टीबाट सन्तमाया बुढाथोकीले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १० नम्बर वडा अध्यक्षमा दिनेश कुमार गोले र ९ नम्बर वडा अध्यक्षमा दिनेश सिवाकोटीले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यता थाहा नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेस (विपि) का बीर बहादुर बोम्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ । ५ नम्बर वडा अध्यक्षका लागि नेपा राष्ट्रिय पार्टीका पूर्ण बहादुर थिङले उम्मेदवारी दर्ता गराउनुभएको छ । ९ नम्बर वडा अध्यक्षका लागि स्वतन्त्रबाट सरोज कुमार रेग्मीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।