हेटौंडा-४ स्थित भुटनदेवी माविमा परीक्षा दिन उपस्थित भएका तस्बिर फाइल विद्यार्थीहरु ।

हेटौंडाः शैक्षिक सत्र २०७८ को विद्यालय शिक्षा परीक्षा (एसईई) आज शुक्रबारबाट सुरु भएको छ । कोभिड–१९ महामारीका कारण पछिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिएको एसईई आज शुक्रबारबाट देशभर सुरु भएको हो ।

परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । मकवानपुर जिल्लामा २४ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी प्रदान गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

एसईई परीक्षा केन्द्र तोकिएको हेटौंडा—४ स्थित भूटनदेवी माविमा १२ वटा कोठामा परीक्षा सञ्चालन भएको विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेलले जानकारी दिनुभयो । प्रत्येक कोठामा ३० जनाका दरले परीक्षार्थी राखिएको र एउटा बेन्चमा दुई जना परीक्षार्थी राखिएको उहाँले बताउनुभयो । प्रत्येक कोठामा दुई जना निरीक्षकको व्यवस्था गरिएको सहायक प्रधानाध्यापक पोखरेलले जानकारी दिनुभयो । परीक्षालाई मर्यादित र सभ्य वातावरणमा सम्पन्न गर्न परीक्षामा खटिने जनशक्तिहरुलाई अभिमुखीकरणसहित जिम्मेवारी दिइएको छ । भूटनदेवी मावि परीक्षा केन्द्रबाट छिमेकी विद्यालय आधुनिक राष्ट्रिय माविका ३ सय ५५ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।

१० वटा विद्यालयका परीक्षार्थीहरुका लागि परीक्षा केन्द्र तोकिएको आधुनिक राष्ट्रिय माविमा ३ सय ९९ जना विद्यार्थी परीक्षामा सहभागी हुने विद्यालयका प्रधानाध्यापक वीरवंश बैठाले जानकारी दिनुभयो । ६ वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालयका विद्यार्थी आधुनिक मावि केन्द्रबाट परीक्षामा सहभागी हुँदैछन् ।

मकवानपुरबाट १ सय ३६ विद्यालयका ७ हजार एक सय ३८ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुले जनाएको छ । एसईई परीक्षाको पहिलो दिन आज शुक्रबार अनिवार्य अंगे्रजी विषयको परीक्षा भएको छ । ११ गते गणित, १२ गते नेपाली, १३ गते विज्ञान, १४ गते सामाजिक, १५ गते स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथमअन्तर्गत्का विषयहरु र १७ गते ऐच्छिक द्वितीयका विषयहरुको परीक्षा हुनेछ ।

जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाबाहेक अन्य ८ वटा पालिकामा एसईई परीक्षाको केन्द्र राखिएको छ । विभिन्न पालिकामा रहेका परीक्षा केन्द्रबाट सोही पालिकाका विद्यार्थीले परीक्षा दिनुपर्ने बताइएको छ । थाहा नगरपालिकाका विद्यार्थीले थाहानगरमै तोकिएको ३ वटा परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् । यसैगरी बागमती गाउँपालिकाका विद्यार्थीले बागमतीमै तोकिएको परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् भने बकैया गाउँपालिकाका विद्यार्थीले बकैयामै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् ।

राक्सिराङ र मनहरी गाउँपालिकाका विद्यार्थीले मनहरीको परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् । हेटौंडा उपमहानगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले हेटौंडा उपमहानगरमा तोकिएका परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् । मकवानपुरगढी, भीमफेदी तथा ईन्द्रसरोबर गाउँपालिकाका विद्यार्थीले पनि सम्बन्धित पालिकामै तोकिएको परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् ।

एउटा पनि परीक्षा केन्द्र नभएका कैलाश र राक्सिराङ गाउँपालिकाका विद्यार्थीहरु छिमेकी गाउँपालिका मनहरी तथा थाहानगर तथा हेटौंडाका परीक्षा केन्द्रमा परीक्षा दिन आउन बाध्य भएका छन् । जसले गर्दा विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन पालिकाभन्दा बाहिरको विद्यालयमा निर्धारण गरिएको परीक्षा केन्द्र धाउन बाध्य छन् । विद्यार्थी संख्या, सुरक्षा चुनौती, पूर्वाधारको अभावका कारण कैलाश र राक्सिराङ गाउँपालिकामा परीक्षा केन्द्र निर्धारण गर्न नसकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले बताउनुभयो ।

परीक्षालाई शान्त वातावरणमा सम्पन्न गर्न परीक्षाभर विद्यालयहरुमा सुरक्षाकर्मी खटिनेछन् । दुई वर्षदेखि पठनपाठन राम्रो हुन नसकेका कारण नतिजा खस्किनेमा विद्यार्थी, शिक्षकलगायत सम्बन्धित निकायले धारणा प्रस्तुत गर्दै आएका छन् । कक्षा १० को परीक्षालाई विगतमा एसएलसी भन्ने गरिएको थियो ।