हेटौंडाः हेटौंडा–९ मा निर्माणाधिन दिव्य बाल उद्यान परिसरमा राखिएको मदन भण्डारी र जीवनाथ आश्रितको शालिक तोडफोड भएको छ । बिहीबार राती उद्यानमा रहेको शालिक तोडफोड भएको हो ।
स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अबिनाश अधिकारीसहितको टोलीको घटनास्थलको अवलोकन गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
घटना नियोजित रुपमा राजनीतिक पुर्वाग्रह राखेर भएको हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले आरोप लगाउनुभएको छ । पार्कमा अन्य कुनै संरचनालाई क्षति नगरी मदन–आश्रितको शालिक मात्र तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको उहाँको भनाइ छ ।
जीवराज आश्रितको प्रतिमा पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ । गत असार १४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन–आश्रितको अर्धकदको शालिक अनावरण गरिएको थियो ।