हेटौंडाः नेपाली काँग्रेसले हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट पाउनु पर्ने मागसहित कार्यकर्ताले मंगलबार पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । काँग्रेस हेटौंडा नगर कमिटीको बैठक बसिरहेको समयमा उपस्थित नेता कार्यकर्ताले नेतृत्वलाई दबाब दिन पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
नगरसभापति उत्सव इटेनीले नगरको बैठक सुनाएपछि लगाइएको ताला खोलिएको थियो । बैठकमा सहभागी हेटौडा नगरका १९ वडाका सभापतिहरुले काँग्रेसबाट जो उम्मेदवार भएपनि स्विकार्ने तर मेयर पद अरुलाई छोड्न नहुने कुरामा जोड दिएका थिए । उनीहरुले नगरमा गठबन्धनका अन्य दलभन्दा काँग्रेसको प्रभाव बलियो रहेकाले मेयर नै लिनुपर्नेमा केन्द्रीय नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । यसअघि मेयर पदका लागि काँग्रेस हेटौंडा नगर कमिटीले हेटौंडा उपमहानगरपालिकाका मेयरमा आनन्दराम पराजुली, उत्सव ईटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको थियो ।











