हेटौंडाः मनहरी गाउँपालिका वडा नम्बर ६ मा बसोबास गर्दे आउनु भएको अनिस राईले मनहरीमा नै पहिलो पटक चप्पल र कागजको प्लेट उद्योग संचालनमा ल्याउनु भएको छ । राईले ८ लाख ५० हजार रुपैयाँ साना किसान कृषि सहकारी संस्था मनहरीबाट ऋण लिएर उद्योग संचालनमा ल्याउनु भएको हो ।
दैनिक ५ सय जोर चप्पल उत्पादन गर्ने उद्देश्यसहित उद्योग संचालनमा ल्याईएको संचालक राईले जानकारी दिनुभयो । जसमा भवन निर्माणका लागि ३ लाख रुपैयाँ, मेसिनरी खरीदमा ३ लाख रुपैयाँ र चप्पल बनाउने सामाग्री खरीद गर्न २ लाख ५० हजार रुपैयाँ लागत लागेको उहाँले जानकारी दिनुभयो । उद्योगमा ४ जनाले रोजगारी पाउने भएका छन् ।
यस्तै, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतिले अनिस राईले मनहरीमा नै पहिलो पटक उद्योग सञ्चालनमा ल्याएको बताउनु भएको छ । मंगलबार राईले सञ्चालनमा ल्याउनु भएको उद्योगको उप्रेतिले उद्घाटन गर्नु भएको हो । अध्यक्ष उप्रेतिले राईको व्यवसायलाई सहज बनाउन मेसिनरी सामग्री हस्तान्तरण गर्नु भएको छ । राईले सञ्चालनमा ल्याएको उद्योगलाई गाउँपालिकाबाट निरन्तर साथ र समन्वय हुने उँहाले बताउनुभयो । उद्योगलाई मझौंला उद्योगको रुपमा स्थापित गर्ने उहाँको भनाई छ ।