हेटौंडाः उद्योग तथा कलकारखाना क्षेत्रमा हुने आगोलागी सम्बन्धी सचेतना कार्यक्रम मंगलबार हेटौंडामा भएको छ । कार्यक्रममा औद्योगिक आगलागी व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास गरिएको थियो ।

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कपडा उद्योगको स्कुललाई एक नमुना कारखाना बनाई त्यसमा आगलागी हुदाँ कसरी जनधनको क्षतिबाट बच्न सकिन्छ भन्ने अभ्यास नमूना सुरक्षाकर्मीले प्रस्तुत गरेका थिए । आगलागी हुँदा संयमित भएर बाँच्न र बचाउन खेल्नुपर्ने भूमिकालाई सुरक्षाकर्मीले डेमो मार्फत् देखाएका थिए । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापनले आयोजना गरेको कार्यक्रमको सहजिकरण सशस्त्र प्रहरी गण १४ नम्बरका प्रहरी उपरिक्षक नेत्रबहादुर कार्कीले गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले विपद् हुनु पूर्व सतर्कता अपनाउन आग्रह गर्नुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, उद्योग संघ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेल, पैहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिति रहेको थियो ।