फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।


हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षातर्फ आधामात्र कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि शिक्षातर्फ निर्धारण गरिएका विभिन्न कार्यक्रममध्ये उपमहानगरले आधामात्र कार्यक्रम गर्न सफल भएको हो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा उपमहानगरले ५० प्रतिशत कार्यक्रम गर्न सकेको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो । स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत् अतिरिक्त क्रियाकलाप सम्पन्न गरिएको छ । माध्यमिक विद्यालयस्तरीय वादविवाद प्रतियोगिता, अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता र चित्रकला प्रतियोगिता अयोजना गरिसकेको महाशाखा प्रमुख रिमालले बताउनुभयो ।

दिवसीय कार्यक्रमहरुसमेत उपमहानगरले गरिरहेको उहाँले जानकारी दिनुभयो । उपमहानगरले बाल दिवसको अवसरमा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता र संविधान दिवसको अवसरमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको थियो । गणित/विज्ञान प्रदर्शनी, राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता र माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

दिवसीय कार्यक्रमअन्तर्गत् शहीद दिवसको अवसरमा अन्तर विद्यालय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको छ । शिक्षकहरुको क्षमता अभिवृद्वि कार्यक्रमसमेत सम्पन्न गरिसकेको रिमालले बताउनुभयो । विद्यार्थीको क्षमता विकाससँगै प्रतिभा प्रष्फुटन गर्न अतिरिक्त क्रियाकलापका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिकाले गत असारमा सार्वजनिक गरेको बजेटमा शिक्षा क्षेत्रका लागि ६३ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको थियो । शिक्षातर्फको सशर्त र आन्तरिक बजेटतर्फका कार्यक्रम सञ्चालन गर्न कुल बजेटको झण्डै २५ प्रतिशत बजेट विनियोजन गरिएको छ । तर हालसम्म उपमहानगरले आधामात्र शैक्षिक बजेट खर्च गरेको छ । कतिपय कार्यक्रमहरु कार्यान्वयनका क्रम रहेको र ३ महिनाभित्र बाँकी रहेका कार्यक्रम सम्पन्न गर्ने दावी शिक्षा विकास महाशाखा प्रमुख रिमालको छ । वार्षिक कार्यक्रममा करिब ७५ वटा कार्यक्रम समेटिए पनि हालसम्म कतिपय कार्यक्रम लागूमात्र भएको उहाँले जानकारी दिनुभयो ।

९ महिनाको अवधिमा आधामात्र कार्यक्रम गरेको उपमहानगरले आगामी वर्षका लागि शिक्षामा विभिन्न नयाँ कार्यक्रम ल्याउने बताएको छ । विद्यालय हरियाली, बालविकास केन्द्रलाई सबलीकरण, सूचना प्रविधिको विस्तार, खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रोत्साहन र जनशक्ति विकासजस्ता कार्यक्रम ल्याइने प्रमुख रिमाले बताउनुभयो ।

आधारभूत तह (कक्षा ८) को परीक्षालाई एसईई मोडेलमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्ने निर्णय महाशाखाले गरेको भए पनि उपमहानरको शिक्षा समितिले उक्त निर्णय उल्टाएको महाशाखा प्रमुख रिमालले बताउनुभयो । यस वर्ष कक्षा ८ को परीक्षा सम्बन्धित विद्यालयमै सञ्चालन हुने भएको छ । यसैगरी गत आर्थिक वर्ष १० प्रतिशत कार्यक्रम तथा बजेट नै फ्रिज भएको उहाँले जानकारी दिनुभयो ।