हेटौंडाः आज वि.सं. २०७९ साल वैशाख १ गते नेपालीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइन्छ । आज नयाँ दिन अर्थात् नयाँ वर्षको सुरुवातको दिन पनि हो ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतार असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।