अमर अधिकारी

स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्र्तराष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउँन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना वागमती(तत्कालिन प्रदेश नं.३) प्रदेश सरकारवाट २०७६ आश्विन २ गते भएको हो । यसको केन्द्रीय कार्यालय बागमती प्रदेशको राजधानी हेटौडामा रहेको छ । यस प्रतिष्ठान एक स्वायत्त संस्था र प्रदेश सरकारको गौरवको महत्वपूर्ण आयोजना पनि हो । यो प्रतिष्ठान आफ्नो लक्ष्य र उद्देश्य पुरा गर्न कटिवद्ध रहेको छ ।

यो प्रतिष्ठानले गुणस्तरिय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न साबिकको हेटौडा अस्पताललाई ऐनद्धारा प्राप्त गरी हालको १०० शैयावाट ३०० शैयामा स्तरोन्नति गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रुपान्तरण गर्ने प्रकृयालाई अगाडि वढाएको छ । विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरु, अत्याधुनिक औजार उपकरण र आवश्यकता अनुसार नर्सिङ्ग र प्राविधिक जनशक्तिको थप व्यवस्था गरी अगाडि वढ्ने सोच प्रतिष्ठानले वनाएको छ । यसैगरी सामुदायिक स्वास्थ्य कार्यक्रमलाई आफ्नो योजनामा राखी थप सेवा प्रदान गरिने लक्ष्य प्रतिष्ठानले लिएको छ ।

स्वास्थ्य विज्ञानका विभिन्न कार्यक्रमहरुको पठन पाठन गर्ने गराउने सन्दर्भमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नो स्थायी संरचना हेटौडा उपमहानगर पालिका वडा नं. १० साबिकको टि.सि.एन को करिब १० विगा जमिनमा तयार हुनेछ । त्यसको लागि संघीय सरकारले उपलव्ध गराउने करिव ९६ करोड अनुदान रकमको टेण्डर प्रक्रिया पूरा भई निर्माण कार्य अगाडि वढेको छ । आफ्नो संरचना तयार नहुन्जेल सम्म हेटौडा उपमहानगर पालिका वडा नं. ११ मा रहेको नवलपुरमा चिकित्सा शिक्षा आयोगवाट ३ वटा विषयहरु (बि. फार्मेसी, बि.पि.एच. र बि.एम.एल.टि ) को स्नातक तहको पढाई यसै शैक्षिक सत्रवाट शुरु भएको छ ।

शैक्षिक संस्थाको स्थापना र सञ्चालनले आज नेपालमा संचालन भएका स्वास्थ्य शिक्षाको गुणस्तर र व्यापकतालाई ध्यान दिई देशलाई आवश्यक परेको र स्वास्थ्य सेवाको पहुँच नपुगेका र आशिंक पहुँच भएका जनसमुदायलाई स्वास्थ्य शिक्षाको अवसर सृजना गर्ने काम हुनेछ । उक्त स्वास्थ्य शिक्षा प्रदान गर्ने अवसर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्राप्त भएको छ ।

बागमती प्रदेश सरकार तथा संघीय सरकारद्धारा संचालित स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने स्वास्थ्य जनशक्तिहरु स्वास्थ्य संस्था खाली नहुने गरि योजनावद्ध एवं दीर्घकालिन योजना अनुसार स्वास्थ्य सेवाको सकारात्मक प्रभावकारिता देखिने गरी पाठ्यक्रम र शिक्षण प्रणाली तयार भएकाछन् ।
हेटौडा उपमहानगर पालिका वडा नं. ८ कमानेमा रहेको लोकतान्त्रिक पार्कको भवन तथा त्यससंग जोडिएको करिव १० कठ्ठा जमिनमा थप पूर्वाधार तयार गरि स्वास्थ्य अनुसन्धानको क्षेत्रमा एउटा विशिष्ट केन्द्रको रुपमा स्थापित गर्न राष्ट्रिय अन्तराष्ट्रिय अनुसन्धानकेन्द्रहरु संगको साथ, सहयोग र सहकार्यमा एक उत्कृष्ट अनुसन्धान केन्द्रको स्थापना भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय साथ, सहयोग र सहकार्यका प्रस्तावहरु भईराखेका छन् । अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाउदैँ जनस्वास्थ्यमा नीतिगत क्रियाकलाप तथा आयाम थप गरेर अनुसन्धान हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । आर्युवेद तथा जडिबुटि र वैकल्पिक चिकित्साको ठूलो सम्भावना रहेको क्षेत्रलाई सेवा, अध्ययन र अनुसन्धानको दायराभित्र ल्याउने सोच प्रतिष्ठानको छ ।
प्रतिष्ठानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा एक उत्कृष्ट केन्द्रको रुपमा विकास गरी राष्ट्रलाई आवश्यक दक्ष एवम् समयानुकूल गुणस्तरिय उपचार सेवा गर्ने जनशक्ति उत्पादनमा प्रतिष्ठानका कार्यक्रमहरु निर्देशित हुनेछन ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक ,प्रशासनिक र शैक्षिक कार्यक्रम र अनुसन्धानको कामलाई ऐन र कानुन सम्वतढंगले संचालन गर्न आवश्यक नियमावलीहरु (आर्थिक प्रशासन, पदाधिकारी व्यवस्थापन तथा सेवा सुविधा संवन्धि, अस्पताल सञ्चालन तथा व्यवस्थापन, कर्मचारी तथा शिक्षक सेवा,सर्त र सुबिधा संवन्धि नियमावली कार्यान्वयनमा आएको छ ।पूर्वाधार तयार गर्न पञ्चवर्षिय आवधिक योजना तयार अन्तिम चरणमा छ । प्रतिष्ठानका केही राम्रा कार्यहरुवाट हेटौंडाका मात्र नभएर मकवानपुरे वासिन्दाहरुमा स्वास्थ्य शिक्षाको गुणात्मक सुधारका लागि आशाका किरण जगाएको छ । नेपाल सरकार पन्ध्रौ योजनामा समावेश भएको बागमती प्रदेशको गौरवको कार्यक्रम यो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सवै पक्षको साथ र सहयोग रहदै आइरहेको छ ।

आफ्नो पथमा दौडिरहेको यस प्रतिष्ठानलाई बन्ध्याकरण गर्न खोज्ने, नियोजन गर्न खोज्ने केही मानिसहरुवाट हेटौडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट अलग गर्ने दाउपेच शुरु भयो । प्रदेश सरकार परिवर्तनसंगै यो खेलो अगाडि वढ्यो । ती समुहहरुले प्रतिष्ठानले अस्पतालको सम्पत्तिमाथी कुदृष्टि लगायो, आर्थिक चलखेल गर्‍यो, अस्पतालको सम्पत्ति वेचविखन गर्छन्, अस्पतालको सेवा शुल्क वृद्धि हुन्छ, आम नागरिकको पहुँच भन्दा माथी हुन्छ जस्ता भ्रामिक र तथ्यहिन कुराहरुलाई प्रचार प्रसार गरे । हेटौंडा अस्पतालको अस्तित्व जोगाउन पर्छ भन्दै सर्वसाधारणलाई दिग्भ्रमित पार्ने कुरा गरेको सुनियो । स्थापनाको शूरुवाती देखि नै केही असहयोगका स्वरहरु पनि सुनिन थाले ।

के साच्चै प्रतिष्ठानले हेटौंडा अस्पताललाई नोक्सान पुर्‍याउन खोजेको हो त कदापी होइन । यी तथ्यहरुलाई पनि नियाल्न जरुरी छ ।
२०७८ वैशाख ६ गतेदेखि विधिवत्रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा आएको हेटौंडा अस्पतालमा छोटो समयमा नै देखिने केही महत्वपूर्ण सुधार आएका छन् जसमा विशेषज्ञ डाक्टरहरुको संख्या १२ वाट २२ पुगेको छ । आई.सि.यु १७ वेड र एच. डी.यू २० वेडको सेवा विस्तार भएको छ । कोरोनाको लहरमा अक्सिजन ग्याँसको चरम अभाव व्यहोरेको यस अस्पतालमा हाल ५०० वेडका विरामीहरुलाई धान्न सक्ने २ वटा अक्सिजन ग्याँस प्रान्ट तयार भएका छन्, भने एउटा लिक्विड ट्याङको व्यवस्था छ । २०७८ असार १४ गतेवाट ८ वटा मेसीनवाट किड्नीका विरामीहरुका लागि डाइलासिस सेवा उपलव्ध छ । ल्याव सेवाको दायरामा वृद्धि भएको छ । पहिलो पटक हेटौंडा अस्पतालवाट मनोरोग सम्वन्धि विशेषज्ञ सेवा सुचारु भएको छ ।

मुटुरोगको लागि शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, क्यान्सर रोगको लागि बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, पोलिएकार छाला सम्वन्धि उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पतालसंग थप विशेषज्ञ सेवा विस्तारको लागिसम्झौता भएका छन् । EHS सेवालाई विस्तार गर्ने, Telemedicine मकवानपुरवाट शुरु गरी अन्य जिल्लाहरुमा पनि सञ्चालन गर्ने, NICU तथा PICU सञ्चालनमा ल्याउने, मुटुरोग तथा क्यान्सर रोग सम्वन्धि दैनिक ओ.पि.डि सञ्चालनमा ल्याउने, दन्तरोग, युरोलोजी सेवा, जरियाटिक सेवा ,सि.टी. स्क्यान सेवा चाडै विस्तार गर्ने जस्ता योजना प्रतिष्ठानले लिएको छ । यसै सन्दर्भमा मिति २०७८ चैत्र २३ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग गर्ने अध्यादेश जारी गर्ने मन्त्रिपरिषद्को निर्णय भएको भन्ने समाचार बाहिर आएको छ । यस कुराले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उन्नति र प्रगतिका लागि वाधा व्यवधान उत्पन्न हुने कुरा निश्चित छ ।

आ.व. ०७७।०७८ मा चिकित्शा शिक्षा आयोगको अस्पताल तथा शैक्षिक संस्थाको अवलोकन पश्चात मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातक तहका ३ वटा विषय पठन पाठनको संचालन अनुमति दिई पठन पाठन भईरहेको हो। राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १२ उपदफा (१) को क अनुसार प्रतिष्ठानले स्नातक तहका चिकित्सा कार्यक्रम संचालन गर्न १०० शैया र चिकित्सा विज्ञानको कार्यक्रम संचालन गर्न कम्तिमा ३०० शैयाको अस्पताल आफ्नै हुनु पर्ने व्य्वस्था रहेको र अध्यापन गराउने ठाउँ र अस्पताल १० कि.मि. भित्र हुनु पर्ने प्रावधान रहेको छ । अस्पतालको आफ्नै अस्पताल नवनिसकेको वर्तमान अवस्थामा सो अध्यादेश जारी भयो भनेप्रतिष्ठानको पठन पाठन र विकासमा गम्भीर असर पर्ने छ ।

हेटौडा अस्पताल प्रतिष्ठानवाट अलग हुँदा निम्न थप कुराहरुमा असर पर्ने देखिन्छःप्रतिष्ठानमा बागमती प्रदेश सरकारको हालसम्मको लगानी करिब १५ करोड भैसकेको अवस्थामा सो लगानी खेर जाने अवस्था आउन सक्छ । प्रतिष्ठानमा हाल संचालनमा आएका शैक्षिक कार्यक्रमहरु Bsc MLT, B Pharma, BPH हेटौडाको नवलपुर स्थित नलेज भिलेजमा संचालन भैराखेकोमा अन्यन्त्र लैजादा हेटौडा बासीका लागि न्यायसंगत नहुने । थप शैक्षिक कार्यक्रमहरु Nursing, MBBS / MD का लागि करिब २० लाख चिकित्सा शिक्षा आयोगमा धरौटी बापत हेटौडा अस्पताल लाई प्रतिष्ठानको अस्पताल देखाई लगानी भै आवश्यक तयारी समेत भैसकेको अवस्था छ ।

प्रदेशको राजधानीमा संचालनमा आएको स्वास्थ्य पूर्वाधार लाई एकाएक मेडिकल हब को रुपमा बिकसित भैसैकेको भरतपुर पु¥याउन खोजिनु आश्चर्यजनक छ । ५० बेडको जिल्ला अस्पताल क्रमश ३०० र २०० थपिएर ५०० शैयाको शिक्षण अस्पतालको रुपमा बिकाश हुदै गएको हेटौडा अस्पताल अब फेरी पुरानै अवस्थामा फर्काउने प्रयास गरिनु विकेन्द्रीकरणको सिदान्त बिपरित रहेको छ । आ. व. २०७७/०७८ मा संघीय सरकारबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि आएको विशेष अनुदान प्रतिष्ठान मातहतको हेटौडा अस्पताल भित्र थप २०० शैयाको अस्पताल निर्माणाधीन रहेको ।
आ. व. २०७७/०७८ मा संघीय सरकारबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि आएको अर्को विशेष अनुदानबाट करिब ५२ करोडमा बिधार्थीहरुको पठन पाठनको लागि प्रतिष्ठानको भोगचलनमा आएको भुटनदेवी मन्दिर नजिकको करिब ८ बिघा जमिनमा उक्त संरचना निर्माणको लागि ठेक्का समेत लागिसकेको अवस्थामा भौतिक संरचनाको अभाव देखाई अन्यन्त्र जिल्लामा बिस्थापित गर्न खोजिएको यो कदम राजनैतिक प्रतिशोधका साथै मकवानपुर बासीलाई स्वास्थ्य र शिक्षामा पछी धकेल्न खोजेको देखिन्छ ।

प्रतिष्ठानको ऐनमा चिकित्सा शिक्षा आयोगको मापदण्डलाई प्रतिष्ठानले अपनाउने भनिएकोमा आयोगको न्युनतम मापदण्डमा बिधार्थीलाई पढाउने ठाउँ र प्रयोगात्मक अस्पताल १० कि.मि. भन्दा बढी हुन नपाउने व्यवस्था भएकोमा चितवनको भरतपुर अस्पताल लैजादा ७० कि.मि. हुन गई शैक्षिक कार्यक्रमनै समाप्त हुनसक्ने गरि ल्याइएको अध्यादेशले प्रदेश सरकारले गरेको उपलब्धि गुम्ने देखिन्छ ।

प्रतिष्ठानको ऐनमा चिकित्सा शिक्षा आयोगको मापदण्डलाई प्रतिष्ठानले अपनाउने भनिएकोमा आयोगको न्युनतम मापदण्डमा कुनै पनि शैक्षिक कार्यक्रम संचालन गर्न आफ्नै कम्तिमा १०० शैयाको अस्पताल हुनुपर्ने व्यवस्था भएकोमा अध्यादेशबाट हेटौडा अस्पताल अलग्याउदा संचालन भैराखेको शैक्षिक कार्यक्रम गुम्ने साथै अन्य नर्सिंङ लगायतका कार्यक्रम ल्याउन नसकिने स्थिति सिर्जना हुने हुदा अबिलम्ब अध्यादेश प्रमाणिकरण प्रक्रिया रोकिनु सान्दर्भिक देखिन्छ यसका लागि मकवानपुरे नागरिकहरुले राजनीतिक मुद्दा नवनाई सवैले यस कार्यको विरोधमा एकजुट भएर लाग्नु अहिलेको टट्कारो आवश्यकता हो । हेटौडा अस्पताललाई अलग गर्ने नै भएपनि प्रतिष्ठानको आफ्नो अस्पताल बनेपछि त्यो धारणा वनाउन उपयुक्त हुन सक्छ तर अहिले होइन ।