हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको वडा न। ५ घट्टेखोलाको गुम्बा निर्माण स्थलमा वाङ कार्यक्रम गरिने भएको छ । यहि असोज १७, १८ र १९ गते ३ दिनसम्म सञ्चालन हुने वाङ कार्यक्रमका लागि साक्या सेन्टर देहरादुन, भारतबाट परम् पावन साक्या गोङ्मा ज्ञान वज्र रिन्पोछेको आगमन हुने आयोजकले जनाएको छ । विश्व मानव समाज लगायत सम्पूर्ण प्राणी जगतमा बाधा अवरोधहरु निर्मूल भई सुख, शान्ति र संवृद्धिका लागि दुई दिन महाकाल धर्मपालको पुजा, तेस्रो दिन १९ गते विशेष गरी ञ्यूङ्ने मौनब्रत र मानी जप गर्नलाई अति आवश्यक मानिने (थुजेछेन्पो) आर्या अवलोकितेश्वर गेलोङमा पाल्मो पद्धतिको अभिषेक (वाङ) हुने भएको हो । बौद्ध धर्म मार्ग दर्शन समिति इन्द्रसरोवर गाउँपालिका–५ घट्टेखोलाको आयोजनामा हुन लागेको कार्यक्रममा १७ गते महाकाल पुजा, १८ गते दिउँसो रिन्पोछेलाई स्वागत र १९ गते विहान ११ः३० बजे वाङ अभिषेकको कार्यक्रम रहेको आयोजकले जनाएको छ । खेन्रिन्पोछे ङावाङ तेम्फेल तामाङद्वारा अनुवाद गरी २१ औँ शताब्दीमा बौद्ध धर्म कसरी अनुकरण गर्नेबारे धर्म प्रवचन हुने भएकाले कार्यक्रममा उपस्थित भै पुण्य लाभ गर्न आयोजक समितिले सबैमा अनुरोध समेत गरेका छन् ।











