सुशील घिमिरे ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ५ नम्बर वडा अध्यक्षमा नेकपा एमालेले सुशील घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । बुधबार वडा कमिटीले आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ५ नम्बर वडा अध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

बक्सिङ खेलका अन्तर्राष्ट्रिय खेलमा पदक विजेता घिमिरे स्थानीय पिप्ले युवा क्लबको अध्यक्ष समेत हुनुहुन्छ । पिप्ले युवा क्लबको नेतृत्व गर्नुहुँदै पिप्लेमा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्नुका साथै करिब डेढ करोडको लागतमा पिप्ले क्याम्पा रंगशाला जनस्तरबाट निर्माण गर्न अगुवाई गर्नुभएका घिमिरे लोकप्रिय युवा हुनुहुन्छ । सामाजिक काम गर्दै गर्दा जनप्रतिनिधि भएर काम गर्ने योजनाअनुसार नै उम्मेदवार हुन चाहेको घिमिरेको भनाइ छ ।

खेलकुदका साथै समाजमा विभिन्न क्षेत्रमा कार्य गर्दै गर्दा विभिन्न व्यक्ति, संघ, संस्थासँग मागेर काम गर्दै आएको स्मरण गनुृहुँदै आफैं नीति निर्माणदेखि राज्यको अंगको सदस्य भएर काम गरेर देखाउने रहर भएको घिमिरेले बताउनुभयो । आफ्नो योजना र पार्टीले पनि सर्वसम्मत उम्मेद्वार बनाएकोले पनि थप प्रेरित भएर लागेको उहाँको भनाइ छ ।

नेकपा एमाले ५ नम्बर वडा कमिटीले वडा सदस्यमा ज्ञानु थापा, राम बहादुर राई, भगवती बिक र रञ्जीता सिलवालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । ज्ञानु थापा र भगवती बिक अहिले पनि वडा सदस्य हुनुहुन्छ भने रामबहादुर राई र रञ्जीता सिलवाल नयाँ अनुहार हो ।