हेटौंडाः मकवानपुर जिल्लामा म्यादी प्रहरीमा १ हजार ४ सय ७३ जना छानिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्राप्त आवेदन मध्य चैत १५ गतेदेखि २१ गतेसम्म संचालित शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परिक्षण, लिखित परीक्षा तथा अन्तर्वार्ता सफल भएका परिक्षार्थीहरुको नामावली मंगलबार सार्वजनिक गरेको हो ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि मकवानपुर जिल्लामा म्यादी प्रहरी भर्ना छनौट गरिएको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय ९५ जनाको नाम बैकल्पिकमा निकालेको छ । छनौट भएका उम्मेदवारहरुले नियुक्ति पत्रको लागि सक्कल नागरिकता र सक्कल प्रवेश पत्रसहति नियुक्ति पत्र लिन जिल्ला प्रहरी कार्यालय मकवानपुरको कार्यालयमा जान समेत सूचना गरिएको छ । म्यादी प्रहरीमा छनौट भएकाहरुलाई भोली २४ गते र २५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म नियुक्ति वितरण गर्ने जिप्रका मकवानपुरले जनाएको छ । यस्तै, म्यादी प्रहरीको प्रशिक्षणको लागि पुरुषलाई ट्रयाक सुट वा गेम ड्रेस र महिलाको हकमा कुर्ता सुरुवाल वा गेम ड्रेस अनिवार्य गरिएको छ ।
म्यादी प्रहरीको लागि ३ हजार ७ सय ३७ जनाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवेदन दिएका थिए । म्यादी प्रहरीमा २ हजार ५ सय ९६ जना पुरुष तथा १ हजार १ सय ४१ जना महिलाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । म्यादी प्रहरीहरुको चैत २८ गतेबाट तालिम सुरु हुनेछ ।