पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पूर्वमुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याउने र प्रतिष्ठानलाई चितवन सार्ने प्रयत्नस्वरुप अध्यादेश ल्याइएको भन्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले आपत्ति जनाउनु भएको छ । आफू नेतृत्वको सरकारले हेटौंडा अस्पतालको स्वामित्व समेत लिने गरी प्रतिष्ठानमार्फत हेटौंडा अस्पतालको स्तरोन्नतिको कार्य गरेको दावी गर्नुहुँदै अध्यादेशमार्फत अस्पताल र प्रतिष्ठानलाई छुट्याउनु गलत भएको बताउनुभयो ।

मकवानपुरे जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धी हुँदै गरेको प्रतिष्ठान र अस्पताललाई टुक्राउने र कमजोर बनाउने कार्यको मकवानपुरबाटै निर्वाचित प्रदेश सभा सदस्य र मन्त्रीले समेत रोक्ने प्रयत्न नगर्नु दुखद् भएको पूर्वमुख्यमन्त्री पौडेलको भनाइ छ । ‘मकवानपुरे जनताको सेवा, सुविधामा हस्तक्षेप हुने निर्णयमा कम्तिमा मकवानपुरबाटै निर्वाचित प्रदेश सभा सदस्य र मन्त्रीले समेत विरोध नगर्नु दुखद् विषय हो’, पौडेलले भन्नुभयो ।

बागमती प्रदेश सभामा नेकपा एमाले संसदीय दलको कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्नुहुँदै प्रदेशका प्रथम मुख्यमन्त्री पौडेलले आफू नेतृत्वको सरकारले प्रदेशकै गौरवको योजनाको रुपमा अगाडि सारेर उल्लेखनीय उपलब्धी हासिल गरेको प्रतिष्ठानलाई सार्ने, कमजोर बनाउने कार्य भएको बताउनुभयो । मकवानपुरको कमजोर स्वास्थ्य सेवामा सुधार गर्ने, दक्ष जनशक्ति समेत उत्पादन गर्ने गरी स्थापित प्रतिष्ठानलाई कमजोर बनाउने, प्रदेशको राजधानीबाट बाहिर लैजाने प्रयत्नले मकवानपुरवासी पीडित हुने उहाँको जीकिर छ ।

प्रतिष्ठानमातहत आएपछि हेटौंडा अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्यामा वृद्धि भएको, सघन उपचार कक्ष (आइसियु), एचडीयु वार्ड स्थापित हुनुका साथै प्रयोगशालाको क्षमता विकास गर्ने काम भएको पौडेलले उल्लेख गर्नुभयो । प्रतिष्ठानको थप विकासका लागि छुट्याइएको डेढ अर्ब बजेट ५/५ लाखका टुक्रे योजनामा खर्च गर्ने वर्तमान सरकारको निर्णय कार्यकर्ता पाल्ने योजना भएको उहाँले आरोप लगाउनुभएको छ ।

आफू नेतृत्वको सरकारले ल्याएको गौरवका योजना एकपछि अर्को गर्दै कटौति गर्दै गएको बताउनुहुँदै पौडेलले भन्नुभयो, ‘सुरुङमार्ग, विद्युतीय बस सञ्चालन जस्ता प्रदेशको गौरवको योजना कटौति गर्ने निर्णय मकवानपुर जिल्लावासीको सेवा, सुविधाको कटौति गर्ने मात्रै नभई देशकै विकासको आधार बन्न सक्ने योजना असफल बनाउने प्रयत्न पनि हो ।’ वर्तमान सरकारको यस किसिमको गलत निर्णयको आम जनताले विरोध र प्रतिकार गर्ने पौडेलको भनाइ छ ।