वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछाने ।

रमेश प्रसाद लामिछाने, हेटौंडा
१. सयौं कार्यक्रम, सभा, समारोह नभएको दिन शायदै हुनसक्छ । सबैलाई प्रमुख अतिथिमा चाहिने ठूला मान्छे । सकेसम्म राष्ट्रपति, त्यसपछि प्रधानमन्त्री, मन्त्रीगण, कतैकतै उपराष्ट्रपति, राज्यमन्त्री, सहायकमन्त्री, प्रदेशका मुख्यमन्त्री, प्रदेशका मन्त्रीहरु, स्थानीय तहमा पनि मेयर, पालिका प्रमुख, नपाउँदा उपमेयर, उपप्रमुख, वडाध्यक्ष पनि नभेटे सदस्यहरु पनि पालोमा पर्दछन् । त्यसपछि उच्च सरकारी पदाधिकारीहरु र संघसंस्थाहरुका ठूलापदहरुमा आँखा पुगेको देखिन्छ । शिक्षण संस्थाका शिक्षक तथा प्राध्यापकहरु प्रमुख अतिथि बनेका सभा समारोह विरलै भेटिन्छन् । शायद, ठूलामा हुनुपर्ने गुणहरु नभएर होला । देशमा करिब २८ हजार सरकारी स्कूल, ७ हजार संस्थागत स्कूल, विश्वविद्यालय सञ्चालित ९, सरकारी कलेज ७०, सम्बन्धनप्राप्त सामुदायिक र निजी कलेज एक हजार ५ सय, लगभग यो संख्याको शिक्षण संस्थाहरु, सरकारी कार्यालयहरु पनि जोड्दा अझ धेरै छन् । कतै स्थापना दिवस, कतै अभिभावक दिवस, वार्षिक दिवस, क्याम्पस सभा, समिति पुनर्गठन समारोह यस्ता अनेकौं नामका कार्यक्रम प्रत्येक दिन अनेकौं शिक्षण संस्थामा भइरहेका छन् । लाग्छ, ती सबै कार्यक्रमहरु संस्थागत जीवनका अंगहरु र तिनका नियमित प्रक्रिया बनिसकेका छन् ।

२. पर्याप्त चाकडी पश्चात ठूला मान्छेको समय लिएर उनीहरुलाई यी कार्यक्रममा बोलाउँदा आयोजकहरु युद्धमा विजयी बनेको अनुभूति गर्दछन् । संस्कारै यस्तो स्थापित भएको छ । हुन त व्यक्तिलाई नभएर त्यो पदलाई बोलाएको हो । व्यक्तिलाई हो भने त पूर्व पदाधिकारी, मन्त्री धेरै हुनेथिए । त्यसो त होइन । बहालवाला पदाधिकारी अर्थात् प्रमुख अतिथि, अतिथि त व्यक्ति नभएर पद नै हो, यसमा शंका छैन । तर पनि सम्बन्धित पदको कार्य प्राथमिकता यहाँ स्पष्ट छैन । एउटै विषय र कुरा भाषणमा धेरैबेर भनिन्छ । उही कुरा दश पटक कक्षाकोठमा जस्तो भाषणमा दोहोरिन्छ । नयाँ विषय आउँदैन । एक दिनमा चारवटा कार्यक्रम, ती चारैवटा ‘स्पीच’लाई विश्लेषण गर्दा झण्डै नब्बे प्रतिशत कुरा उही हुन्छ । ती ठूला मान्छेहरु एउटा प्राथमिक स्कूलको अभिभावक भेलामा र क्याम्पसको सभामा प्रायः उही वाक्य बोलिरहेका हुन्छन् । जति धेरै समय बोल्यो, उति ठूलो मान्छे बन्ने संस्कार त छ नै । धेरै समय कटाउन कुरा उही, पटक धेरै गर्नैपर्छ ।

३. वक्तालाई आफूले बोलिरहेको विषय र सन्दर्भसँग सम्बन्धित वातावरण मेल खाए नखाएको पर्वाह छैन । स्कूलको वार्षिक उत्सवमा विमानस्थल निर्माणमा रुख काट्ने चर्चा भाषणको मुख्य भाग बन्छ, विश्लेषकहरु सुनेर दिक्क मान्छन् । कलेजका स्वर्णवर्षमा ठूला मान्छेले बोल्दा सरकार गठन, सांसदको भोट, चुनावको जीतहार जस्ता विषयले समय पाउँछ । तर, संस्थागत विकास र त्यसको दृष्टिकोण कतै आउँदैन । यो उदेकलाग्दो असान्दर्भिक अवस्थाको अन्त्य जरुरी छ । उराठपूर्ण, विसंगति अर्थात् सभाको मूल विषय र उद्देश्य एक, भनाई भाषण अर्कै हुँदा टिप्पणीकारहरुले गर्ने आलोचनालाई स्वभाविक भन्नुपर्ने हुन्छ । सम्बन्धित मन्त्रालयको महत्वपूर्ण नीतिगत निर्णय छाडेर राज्यकोषको दोहन गरेर दूरदराजको गाउँमा अभिभावक भेलाको प्रमुख अतिथि बन्ने मन्त्री वा ठूला पदले कहाँ के बोल्ने, त्यहाँको नागरिकको, आयोजकको भावना के हो ? आवश्यकता के हो ? यस्ता सबालमा सम्बिन्धत पद धारण गर्ने व्यक्ति सचेत रहनु राम्रो हुन्छ ।

४. तारिफ र चाकडी अनि प्रशंसाका भोकाहरुलाई यथार्थताको उजागर भएमा अर्थात बादशाह ना¨ो भन्दा विरोधी बनिने संस्कार र त्यसको त्रासले सत्य छोपिएको छ । यसको अर्थ भेला, समारोह, उत्सवमा ठूला मान्छे पुग्न नहुने भन्न खोजिएको पटक्कै होइन । समय पुग्दा प्राथमिकतामा परेका काममा ती पदको उपस्थितिले समारोहको भव्यता बढाउँछ र आयोजकलाई थप ऊर्जा मिल्छ नै । उच्च पद भनेका नीति, ऐन, कानून बनाउने र त्यसको कार्यान्वयनको खाकासहित मातहतलाई सक्रिय बनाउने स्थान हो । कार्यक्रम एकातर्फ, भाषणको भाव अर्कैतर्फ हुँदा राम्रो हुँदैन । दिन खोजेको सन्देश सटिक र व्यवहारोपयोगी हुनुपर्छ । प्रस्तुति वजनदार बन्नैपर्छ अन्यथा पदको उपहासमात्र हुनेछ । स्कूलको सभामा सहकारी र वनको कुरा भएमा स्रोताले के मूल्यांकन गर्ने ? नयाँ विचार, भावना, सन्देश र दृष्टिकोणको अपेक्षा आयोजकले गर्दछन्, त्यो दिनु राम्रो हुन्छ । तरकारी पसलेसँग ग्राहकले खुर्सानी माग्दा आलु दिएमा ग्राहकले के बुझ्छ र वातावरण कस्तो बन्ला ? यो सबालमा ठूला र उच्च पद धारण गर्ने व्यक्तित्व जानकार बन्नुपर्छ । हाम्रा प्रतिनिधि, हाम्रो सरकारका मान्छे, देशका ठूला मान्छे, उच्च पदासीनबाट के अपेक्षा गरिन्छ ? सभा, उत्सव, समारोहमा किन बोलाइन्छ ? त्यो गम्भीररुपमा बुझ्नुपर्छ ।

५. एउटा शिक्षण संस्थाको सभा, उत्सव, समारोह कम्तिमा तीनचार घण्टाको हुन्छ नै । प्रमुख अतिथिको आसनग्रहण पश्चात् स्वागत गर्नेवित्तिकै उद्घाटन अनि ठूलो पदको अरुका कुरा सुन्ने समय हुँदैन, तुरुन्तै आफ्नो भाषण राखेर उठ्न हतार हुन्छ, बैठक भ्याउनु छ, मन्त्रालयमा धेरै काम छ, व्यस्त मान्छे, व्यस्त पदलाई यहाँ मोफसलको कसैसँग वास्ता, पर्वाह गरेर बस्ने फुर्सद हुँदैन । सँगै आएका वरिष्ठहरुले जाँदा पनि घेरेर लान्छन् । आउँदा पनि घेरेर नै मञ्चमा पु¥याउँछन् । बोल्ने पनि फुर्सद हुँदैन । काठमाडौंदेखि आएका केही नयाँ कुरो सुनौं र आफ्नो कुरो पनि राखौं भन्ने आयोजकलाई तपाईंको कुरा टिपेर दिनोस् भन्दछन् । प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई समारोहका तल्लो तहका नागरिकले बोलेको सुन्ने, अन्तरक्रिया गर्ने फुर्सद पटक्कै हुँदैन । एक दिनमा दर्जन समारोहमा पुग्ने कार्यक्रम बनाएका हुन्छन् । हाम्रो यो पद्दतिबारे चिन्ता र गम्भीरता आउनु जरुरी छ । नभ्याए नजाने, गएपछि कम्तिमा दुईचार कुरा पद नभएका भुँईमान्छेहरुको वा तल्लो पदकाको सुन्नुपर्छ नि ।

६. ठूलो भन्दा पनि असल र महान योगदानका लागि विश्व प्रसिद्ध व्यक्तित्वहरु फिडेल क्यास्त्रो, चे ग्वेभारा, माओ, गान्धी, बुद्ध, लेनिनका जीवनशैली जो उच्च पदमा पुगे वा प्रसिद्धिको शिखर भेट्न सफल भए, उनीहरुबाट केही सिक्न त सकिन्छ । कार्ल माक्र्स जो यस तेस्रो सहस्राब्दीका महान पुरुष भनेर पूँजीवादका अनुयायीले स्विकार गरे, घोषणा गरे, उनको जीवनशैलीबाट पनि केही सिक्न सकिन्छ । लिंकन, मार्टिन लुथर किंग, आइन्सटाइनदेखि धेरै त्यस्ता व्यक्तित्व आजसम्म जन्मिए, केही दिएर गए । उनीहरुको योगदान भजाएर हामी बाँचेका छौं । सिंगै ती महान व्यक्तित्वजस्तो बन्नुपर्छ भन्ने होइन, अरु कोही उस्तै त बन्न सक्दैन पनि । थोरै असल कुरा सिक्नेसम्म हो । उच्च पद ओगट्नु र पदीय जिम्मेवारी बहन गर्नुमा अन्तर छ । तोकिएका विविध विषयगत संरचनाका पदासीन व्यक्तिले पदीय भार पूरा गर्नैपर्छ अन्यथा उक्त पद ओगटेर राष्ट्रलाई लुट्ने काम गर्न पाइन्न, त्यो छुट कसैलाई छैन ।

७. मलको डोको घोप्ट्याएको ठाउँमा सागको ठूला बोट मैले बनाएँ भनेर गीत गाएर अरुको आँखामा छारो हाल्ने दुस्साहस भन्दा रुखो, बालुवा भएको ठाउँमा झरिलो सागको बोट देखाउन सके त्यसको महत्व फरक हुन्छ । हामीले कुनै ढुंगा फोर्दा पछिल्लो प्रहारको कारणले मात्र फोरिएको भन्न थाल्यौं भने त्यो सतही र दरिद्र विश्लेषण बन्नसक्छ । हुन त पछिल्लो प्रहारले नै फुटेको देखिएता पनि त्यसअघिका दशौं प्रहारको कारणलाई नजरअन्दाज गर्न मिल्दैन । यी सबै सन्दर्भ सरकारसँग खासगरी शिक्षा मन्त्रालयसँग जोडेर शिक्षामा ऐतिहासिक फड्कोको अपेक्षा गरिएको हो । अवसरसँग स्वभाविक चुनौती त छन् नै । जिम्मेवार पदले वास्तविकता बुझेर निर्णय लिनुपर्छ । सतहमा र भाषणमा दौडेर उही कुरा पटकपटक बोलेर केही अर्थ छैन । तसर्थ, शैक्षिक फड्कोले समृद्धि हासिल गर्न सहज हुने यथार्थताको व्यवहारमा रुपान्तरणको हामीले अपेक्षा गरेका छौं ।