हेटौंडा अस्पतालमा यतिबेला कोरोना उपचार गराउन बिरामीको संख्या शून्य रहेको छ । स्वाब परीक्षणमा पोजेटिभ देखिएका कोरोना संक्रमितहरु होम आइसोलेसनमा उपचार गराएपछि अस्पतालमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । दुई वर्षदेखि विश्व विज्ञानलाई नै चुनौती दिएको कोरोना महामारी बिस्तारै कम हुँदै गएको छ । रोगविरुद्ध खोपको विकास भएसँगै मानिसमा प्रतिरोधात्मक क्षमता बढेपछि कोरोना लागेर मृत्यु हुनेको संख्यामा कमी आएको पाइन्छ । तै पनि विश्व स्वास्थ्य संगठनले महामारीलाई अझै उच्च सतर्कताका साथ लिनुपर्ने चेतावनी दिँदै आएको छ । महामारीले स्वास्थ्य सजगता बढाइदिए पनि पछिल्लो समयमा नियन्त्रणका लागि सहयोगी बन्दै आएको छ । नेपालमा महामारीको अवस्था न्यून भइसक्दासमेत स्वास्थ्य मापदण्डको पालना कायम नै छ ।

तत्कालका लागि कोरोना संक्रमण कम हुँदै गएको देखिए पनि गर्मी बढेकाले अन्य सरुवा रोग बढ्ने खतरा यथावत छ । दैनिक गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट प्राप्त भएको स्वाब नमुनाहरु कोरोना परीक्षण गर्दा नेगेटिभ प्राप्त हुने गरेको छ । फागुन महिनामा हेटौंडा अस्पतालमा ५ जना कोरोनाका बिरामी उपचारत रहेका थिए । हेटौंडा अस्पतालमा कोरोना बिरामीको संख्या न्यून भए पनि सरुवा रोगको संक्रमण बढ्न थालेपछि उपचार गराउन आउनेहरुको संख्यामा वृद्धि भएको छ । कोरोनाको संक्रमण घटे पनि गर्मी महिनामा सरुवा रोगको बढी संक्रमण बढी हुने भएकाले अस्पतालमा उपचार गराउन आउनेको संख्या भने बढेको छ । गर्मी बढेसँगै मानिसले स्वास्थ्य सुरक्षामा विशेष ध्यान नदिने हो भने उपचारमा चुनौती थपिनेछ ।

गर्मी मौसम सुरु भएसँगै विभिन्न संक्रमणजन्य रोगको संक्रमण बढ्ने गरेको छ । जाडो मौसममा भन्दा गर्मीमा संक्रमणजन्य रोगहरु छिटो र बढी फैलिने चिकित्सकहरुले चेतावनी दिने गरेका छन् । नेपालमा गर्मी मौसममा विशेषगरी मलेरिया, कालाजार, डेंगु, हैजाजस्तो रोगले महामारीको रुप लिने गरेको छ । अझ पेटसँग सम्बन्धित रोगहरु, जुन पानी, खाना र कम सरसफाइका कारण फैलिने गर्दछन् । नेपालमा गर्मी सुरु भइसकेकाले अब संक्रमणजन्य रोगका बिरामी पनि बढ्ने चिकित्सकहरुको आशंका छ । यस्तो संक्रमणबाट जोगिनका लागि नागरिक सचेत हुनुपर्दछ भने राज्यका निकायहरुबाट समेत पर्याप्त मात्रामा प्रचारप्रसार गर्ने र उपचारका लागि उचित प्रबन्ध गरिनु आवश्यक छ ।

परिवार, छरछिमेकदेखि बजारमा हुने फोहरका कारण बर्खामा बढी रोगव्याधी फैलिने गरेको छ । अघिल्ला वर्षहरुमा हेटौडामा डेंगुले निकै सताएको थियो । गर्मी सुरु हुँदैछ भने वर्षाको मौसममा लामखुट्टेबाट बच्न व्यक्ति स्वयम् जिम्मेवार हुन आवश्यक छ । बर्खामा हुने दूषित पानीले पनि महामारी फैलने गरेको छ । हेटौंडामा केही वर्षदेखि खानेपानीको प्रदूषणमा कमी आएको छ । तर अन्य तरिकाबाट सरुवा रोग फैलँदै आएको छ । रोग लाग्दछ भन्ने पक्का नै भए पनि राज्यका निकायहरुले प्रतिरोधका लागि गर्नुपर्ने तयारीमा चुस्तता छैन । आगलागी भएपछि ईनार खन्ने नेपाली प्रशासनको सुस्त गतिले दुःख नागरिकले नै पाउने हो । त्यसैले कोरोना न्यून भएको अवस्थामा हाइसन्चो महशुस गर्नुभन्दा आउने चुनौतीको सामनाका लागि तयारी गर्नुपर्दछ ।