बैठकपछि पत्रकार सम्मेलन गरी गठबन्धनबारे जानकारी गराउनुहुँदै काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा ।

हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा नेपाली काँग्रेसको अगुवाईमा ५ दलको गठबन्धन घोषणा गरिएको छ । शुक्रबार नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालयमा बसेको बैठकले काँग्रेस मकवानपुरको सभापतिको संयोजकत्वमा गठबन्धनका दलका जिल्ला अध्यक्षहरु सदस्य रहने गरी जिल्लास्तरीय संयन्त्र गठन गरिएको छ ।

काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा नेपाल रहेको जानकारी दिनुभयो । केन्द्रीय निर्देशन बमोजिम गठबन्धनमा आवद्ध रहने दलका जिल्ला प्रमुखबीच बैठक बसेको सभापति लामाले जानकारी दिनुभयो ।

जिल्ला हुँदै पालिकास्तर र वडास्तरमा गठबन्धन निर्माण गर्ने निर्णय भएको छ । सचिवालय नै बनाएर गठबन्धनलाई सशक्त बनाउने उल्लेख गर्नुहुँदै सभापति लामाले भन्नुभयो, ‘सचिवालयले गठबन्धनका लागि आवश्यक विषय र आधार तय गरी गठबन्धनलाई सशक्त बनाई गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउन सवै तहका नेता कार्यकर्तालाई निर्देशन दिने निर्णय भएको छ ।’

आवश्यकताकै आधारमा गठबन्धन गरिएको उल्लेख गर्नुहुँदै सभापति लामाले केन्द्रको निर्देशनअनुसार आगामी दिनमा थप कार्य गरिने बताउनुभयो । मकवानपुरका स्थानीय तहमा शनिबार गठबन्धनका दलका प्रमुखहरुबीच बैठक बस्ने बताइएको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जनमोर्चा नेपाल बाहेक गठबन्धनमा आवद्ध सबै दलका जिल्ला नेताको सहभागिता रहेको थियो ।