हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार हेटौंडाका फरक–फरक स्थानबाट लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार साँझ ४ बजे विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा–२, संगमचोकबाट ना ४३ प ८६५१ नम्बरको मोटरसाइकलमा लुकाइछिपाई ल्याएको खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१५ का २३ बर्षीय राजेश खाती र सोही मोटरसाइकलको पछाडी सवार रहेकी राक्सिराङ्ग–३ की २० बर्षीया आयुषा ठकुरी रहेको जनाइएको छ । प्रहरीले उनीहरुको साथबाट लुकाई छिपाई ल्याएको २ ग्राम ७५० मिलीग्राम खैरो हेरोईन फेला पारेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई लागूऔषध र मोटरसाइकलसहित पक्राउ गरी शुक्रबार जिल्ला अदालत मकवानपुरबाट १६ दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बिहीबार बिहान २ बजेर ४५ मिनेटको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा सवारी साधनहरु रोकी सुरक्षाजाँच गर्ने क्रममा बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको प्र ३–०२–००६ प २६१४ नम्बरको मोटर साईकल सवार धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका–१४ का २९ बर्षीय बलराम गुरुङ्गलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
प्रहरीले गुरुङको साथबाट ४ ग्राम लागुऔषध खैरो हेरोइन र लागुऔषध नाईट्राभेट १३ ट्याब्लेट फेला पारेको जनाइएको छ । गुरुङलाई लागूऔषध र मोटरसाइकलसहित पक्राउ गरी शुक्रबार जिल्ला अदालत मकवानपुरबाट १८ दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।