विद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित पदाधिकारीसहित विद्यालयका शिक्षक, कर्मचारी ।

हेटौंडाः हेटौंडा–२ स्थित सिद्धार्थ माविको व्यवस्थापन समिति अध्यक्षमा बलराम घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न ४४ औं अभिभावक भेलाबाट व्यवस्थापन समिति सर्वसम्मत निर्वाचित भएको हो ।

अध्यक्ष चयन गर्नुअघि अभिभावक भेलाबाट सदस्यमा खुलातर्फ बलराम घिमिरे र रामचन्द्र बर्तौला तथा महिलातर्फ सरिता दाहाल र लक्ष्मी श्रेष्ठ चयन हुनुभएको थियो । ४ जना सदस्य निर्वाचित भएपछि पिताम्बर बास्तोला र ज्ञानु परियारलाई सदस्यमा मनोनित गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यमा अभिभावक भेलाको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर महतले शिक्षालाई शिरमा राखेर राजनीतिकरणलाई बाहिर राखेर विद्यालय र विद्यार्थीको हितमा विद्यालय चलाउनु पर्ने बताउनुभयो ।

विद्यालयकी अभिभावक तथा पूर्वविद्यार्थी मनिषा थापाले विद्यालयको शैक्षिक र उच्च गुणस्तर शिक्षा हासिल गर्न सहयोग गरेको बताउनुभयो । उहाँले सिद्धार्थ माविले गुणस्तर र भविष्यमा राम्रो ठाउँमा पुर्‍याउन सहयोग गर्ने बताउनुभयो । अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले विद्यार्थीलाई घरमा राम्रो संस्कार दिन अभिभावकसँग आग्रह गर्नुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत वनविज्ञान विषयको डिप्लोमा, कक्षा ११ र १२ मा कानुन संकाय, विज्ञान संकाय, वाणिज्य र शिक्षाशास्त्र संकाय अध्यापन भइरहेको सिद्धार्थ माविमा २ हजार ४२ विद्यार्थी अध्ययनरत छन् ।