कृषिगणना कार्यक्रम बारे जानकारी गराउँदै ।

हेटौंडाः नेपालमा वि.सं. २०१८ सालदेखि केन्द्रीय तथ्याङ्क विभागले हरेक दश–दश बर्षमा राष्ट्रिय कृषि गणना गर्दै आइरहेको छ । यही सिलसिलामा मुलुकको सातौं कृषि गणना आगामी २०७९ साल बैशाख ६ गतेदेखि जेठ १९ सम्म सञ्चालन हुँदैछ । मकवानपुर जिल्लाको कृषिगणनाका लागि सोमबार हेटौंडामा सचेतना गोष्ठी भएको छ ।

बागमती प्रदेशको कृषिगणना कार्यालयका अधिकृत राजेश दासले कृषिगणनामा हुने व्यवस्थाको विषयमा प्रस्तुतीकरण गर्नुभयो । दासका अनुसार नेपालको सबै ७७ जिल्लाका ७ सय ५३ स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने छ । यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृषिकार्यको विवरणहरु संकलन गरिने उहाँले जानकारी दिनुभयो । कृषिगणनामा सुचीकरण, मुख्य प्रश्नावली र सामुदायिक प्रश्नावली गरी गणना गरिने छ ।

राष्ट्रिय कृषिगणना देशभर सञ्चालन हुने एक बृहत् एवम् महत्वपूर्ण कार्य भएकाले यस कृषिगणना २०७८ मा ६ हजार जना गणक, १ हजार ५ सय जना सुपरिवेक्षक, ७ जना प्रदेश कृषिगणना अधिकृत, ७० जना जिल्ला कृषिगणना अधिकृत, ७७ जना सहायक कृषिगणना अधिकृत एवम् अन्य कर्मचारीहरुसमेत गरी करिब ८ हजार जना कर्मचारीहरु प्रत्यक्ष रुपमा संलग्न उहाँले बताउनुभयो । कृषिगणना कार्यका लागि कृषिगणना कर्मचारीहरु चैत २४ सम्ममा नियुक्त हुनेछन् । मकवानपुरमा १ सय ८५ कृषिगणक, ६० जना गणक र १८ जना सुपरिवेक्षकहरु रहने उहाँले बताउनुभयो । मकवानपुरमा कृषिगणना क्षेत्रमा ९१ वटा वडाहरु नमुनामा परेको छ ।

प्रदेश कृषिगणना कार्यालय बागमती प्रदेशको आयोजनामा भएको कृषिगणना सचेतना कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्य रहेको थियो ।