हेटौंडाः हेटौंडा–१२, पदमपोखरीमा सडक निर्माणका लागि बागमती प्रदेश सरकारले डेढ करोड बजेट उपलब्ध गराएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले पदमपोखरीमा विभिन्न सडकका लागि डेढ करोड बजेट उपलब्ध गराएको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्ष ललित घलानले जानकारी दिनुभयो ।
हेटौंडा–१२ पदमपोखरीस्थित विकटोलहुँदै बुद्धचोक निस्कने ३ सय मिटर सडक कंक्रिट ढलान गर्न १५ लाख रुपैयाँ, पदमपोखरी–१२ स्थित सिग्रेनीको सोल्टीचोकदेखि विचरोड जोड्ने करिब ३ सय मिटर कंक्रिट ढलान गर्न १५ लाख रुपैयाँ, हात्तिगौंडा आल्दमार पुल जाने बाटो निर्माणमा १२ लाख रुपैयाँ, आल्दमारबाट कल्याणटार जाने बाटोमा १५ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।
यस्तै, सडक तथा पुल निर्माण पदमपोखरी चक्रपथ सडक, भोटाङ्गे टोल स्ल्याव ढलान, कल्याणटार बीरघरे च्यानडाँडासम्म बाटो स्ल्याव ढलान, दुर्गा बलको घरबाट प्रगतिटोल जाने बाटो, कोत्रा कल्भर्ड जोड्ने बाटो निर्माणका लागि बजेट विनियोजित गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१३ मा पदमपोखरी हुँदै रमनथली, ठुलोथली, सिमपानी हुँदै टुटेपानी जोड्ने बाटो स्तरोन्नतिका लागि १९ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।











