हेटौंडाः ५७ औ अन्तर्राष्ट्रिय विभेद उन्मूलन दिवसको अवसरमा हेटौंडामा आयोजित जातीय छुवाछुत अन्त्यमा सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य जंगबहादुर विकले जातीय विभेदको अन्त्य गर्न आन्दोल गर्नुपर्ने बताउनुभयो । उहाँले मानव भएर बाँच्नुपर्ने अधिकारको विषयमा लड्नु पर्दा समाजको लज्जाको विषय भएको दावी गर्नुभएको छ ।

समाजमा भएको कठोर नियम र शोषणलाई अन्त्य गर्न लड्नुपर्ने र जातीय विभेद समाजको मात्र नभएर राज्यको पनि समस्या रहेको उहाँले बताउनुभयो । समाजमा वर्गीय र जातीयरुपमा गरिएको विभेदलाई रोक्न व्यावहारिकरुपमा कार्यान्वयन गर्न नसकेको उहाँले जिकिर गर्नुभयो । समाजमा छुवाछुत र जातीय विभेद रहेको हुनाले समानता प्राप्त नभएर देशको समृद्धि नहुने समेत उहाँले बताउनुभयो ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्य तथा मानव अधिकार तथा जातीय विभेद सरोकार केन्द्र नेपालका अध्यक्ष कमलकुमार विकको सभाअध्यक्षता अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा मानव अधिकार तथा जातीय विभेद सरोकार केन्द्र नेपालका अध्यक्ष्य विकले जातीय छुवाछुत अन्त्यका लागि सरकार र नागरिक समाजको विषयमा अवधारणा प्रस्तुत गर्नुहुँदै अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ, नेपालमा २१ मार्चको सुरुवात, वर्तमान संविधान र कानुनमा जातीय विभेदविरुद्धका प्रावधान प्रस्तुत गर्नु भएसँगै कार्यान्वयनको अवस्था र राष्ट्रिय मानव अधिकारको सुझावलाई प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश गैरसरकारी संस्था महासंघका उपाध्यक्ष आरती पाठकले जातीय भेदभाव र छुवाछुत अन्त्य गर्नका लागि अभियानको रुपमा लागिरहेको बताउनुभयो । नागरिक समाजले जातीय विभेद हटाउन सचेतना अभियान गर्नुपर्ने उहाँले बताउनुएको छ । जुन व्यक्तिले सिलाएको कपडा लगाउँछौं, त्यहि व्यक्तिलाई जातीय छुवाछुत गर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
सोमबार भएको अन्तरक्रिया कार्यक्रममा नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य मुनु सिग्देल र विभिन्न राजनीतिक दलका प्रतिनिधि र विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

.अञ्जना तामाङ