हेटौैैंडाः नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले स्थानीय तहको चुनावमा टिकट दिने निर्णय केन्द्रले गर्ने बताउनुभएको छ । सोमबारबाट हेटौंडामा सुरु भएको दुई दिने नेपाली कांग्रेस बागमती प्रदेश समितिको तेस्रो बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेता सिंहले अहिलेको सरकारमा विभिन्न दलको गठबन्धन भएकाले टिकट दिने काम केन्द्रले निर्णय गरेपछि मात्र टुङ्गो लाग्ने बताउनुभयो । उहाँले कांग्रेस नेता कार्यकर्ताहरु अब घर–घर, गाउँ–गाउँ पुग्नुपर्ने बताउनुभयो । मतदाता नामावलीमा नाम समावेश भएकाहरुलाई कांग्रेसमा समेटी बागमती प्रदेश सरकारलाई कांग्रेसमय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अहिले कांग्रेसका नेताहरुले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्नुपर्ने उहाँले बताउनुभयो । कांग्रेस सधैं विकास निर्माणको काम चाहने भएकाले अब गाउँघरमा विकास निर्माणका कामहरु अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । नेता सिंहले कांग्रेस नेतृत्वको सरकारले एमसीसीलाई पास गरेर देशलाई आर्थिक संकटबाट बचाएको पनि बताउनुभयो । एमसीसी विदेशी अनुदान भएकाले यसले विकास निर्माणका काममा उल्लेखनीय सहयोग पुग्ने उहाँले जोड दिनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बैठक सुरु भएको छ । बैठक आज मंगलबारसम्म चल्नेछ ।











