वनस्पति जैविक विविधताको एउटा मुख्य भाग हो । वनस्पति प्रकृतिको एउटा सुनौलो उपहार हो । वातावरण सन्तुलन र मानवजातिको हितमा यसको महत्वपूर्ण भूमिका रहेको छ । गाँस, बास, कपासलगायत हाम्रो धर्म, संस्कृतिसँग पनि यो जोडिएको छ ।

वनस्पतिको अध्ययन सर्वप्रथम नेपालमा विदेशी नागरिक बुकानन हैमिल्टनले सन् १८०२ मा सुरुवात गरेका थिए । वनस्पतिविज्ञहरूले सन् २०१९ मा गरेको अध्ययन अनुसन्धानअनुसार नेपालमा मात्र करिब ६ हजार भन्दा बढी फूल फुल्ने वनस्पतिका प्रजातिहरूको तथ्याङ्क अभिलेखित भएको छ । जसमध्ये नेपालमा मात्र पाइने (endemic) ३१२ प्रजातिका वनस्पतिहरू रहेका छन् । जलवायुको सन्तुलन र भूगोलअनुसार पनि यहाँ विभिन्न प्रजातिका वनस्पतिहरू पाइने गर्दछन् । वनस्पतिको पहिचान र अध्ययन भएसँगै यसको उपयोगिताका बारेमा अझ चर्चा हुँदै आएको छ ।

मानव जाति र वनस्पतिसँगको सम्बन्ध तथा वनस्पतिप्रतिको प्रेम र सद्भाव मानव समूहको स्थापना भएसँगै हजारौं बर्षदेखि रहिआएको छ । वैज्ञानिक दृष्टिकोणअनुसार पनि यसले वातावरणलाई स्वच्छ बनाउनुका साथै अक्सिजनको मात्रा पनि सन्तुलन बनाउनमा मद्दत गर्दछ । समयको परिवर्तन तथा परिवर्तनसँगै केही नयाँ प्रविधिको आविष्कारका कारण विदेशीहरूसँग गाँसिएको सम्बन्धसँगै वनस्पतिहरू साटासाट गर्ने चलन पनि रहिआएको छ ।

प्रतिभा बुढाथोकी

विभिन्न विदेशी विधि अनुसरण गरेसँगै कतिपय वनस्पति बाहिरबाट आयात गरिएका थिए र आयात गरिँदै आएको पनि छ । यसकारण वनस्पतिको उत्पत्तिको आधारमा स्वदेशी (native) र बाह्य (alien) वनस्पति गरी दुई भागमा विभाजित गरिएका छन् ।

कुनै प्रजातिको वनस्पति प्राकृतिक प्रक्रियाअनुसार मानव सहायता बिना कुनै क्षेत्रमा आफैं स्थापित हुन्छ भने त्यस्ता वनस्पतिलाई स्वदेशीमा वर्गीकरण गरिएको छ । सरल भाषामा भन्नुपर्दा जंगली वनस्पतिलाई स्वदेशी भन्ने गरिन्छ तर सबै जंगली अथवा जंगलमा पाइने वनस्पतिहरूलाई स्वदेशी भन्न सकिन्न । स्वदेशी वनस्पति हुनका निम्ति लामो समयदेखि यहाँको अनुकूल वातावरणमा मानव सहायता बिना यहाँका रैथाने वनस्पतिहरूसँगसँगै विकसित हुँदै आएको हुनु पर्दछ । स्वदेशी वनस्पति भन्नाले लालीगुराँस, पारिजात, जमानेमान्द्रो लगायतका वनस्पतिहरू हुन् । स्वदेशी वनस्पति बहुवर्षीय, एकबर्षीय हुने गर्दछन् भने रूख वर्गदेखि लिएर स–साना झाडी र गानेदार वनस्पति पनि हुने गर्दछन् ।

स्वदेशी वनस्पति एक ठाउँमा मात्र पाइने भन्ने हुँदैन अर्थात अरू ठाउँ वा देशमा पनि पाइने गर्दछन् । वनस्पतिको आयात कुनै निश्चित उद्देश्यलाई पूरा गर्नका निम्ति गरिन्छ भने कुनै वनस्पति जानीनजानी कुनै वस्तुसँग टाँसिएर, मिसिएर पनि भित्रिने गर्दछन् । बाहिरबाट आयात भएका वनस्पतिहरू सबै उपयोगी र फाइदाजनक हुँदैनन् ।

मखमलीफूल, सयपत्री (Tagetus sp) फूलहरू बाहिरबाट आयात गरिए तापनि यसको महत्व भने नेपाली संस्कृतिमा निकै रहेको पाइन्छ । फूलमाला बनाउन, पूजापाठ, मठमन्दिर वा सजावटका निम्ति अर्थात् जन्मेदेखि मृत्यु पर्यन्त पनि यसको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । सजावटसँगसँगै केही बाहिरबाट आयात भएका वनस्पतिहरू भने जडीबुटीकोरूपमा खानामा साथै व्यावसायिक खेतीका निम्ति उत्तिकै लाभदायक छ । जस्तैः पाउलोनिया (Paulownia tomentosa) जुन पूर्वीएसियाबाट आयात गरिएको एउटा रूख प्रजाति हो रयो छिटो भन्दा छिटो हुर्कनुका साथै यसबाट गुणात्मक काठ प्राप्त गर्न सकिन्छ ।

यस्ता कतिपय वनस्पतिहरू लाभदायक हुने गर्दछन् भने कुनै मिचाहा प्रवृत्तिका पनि हुने गर्दछन् जसले गर्दा हाम्रा स्वदेशी वनस्पतिलाई समेत हानि पुर्‍याइरहेका हुन्छन् । केही वनस्पति जस्तैः जलकुम्भी (Eichhorniacrassipes) नामक अत्यन्तै सुन्दर फूल्ने वनस्पति पनि मिचाहा प्रवृत्तिको हुने गर्दछ । जुन दक्षिण–अमेरिकाबाट आयात गरिएको हो । सुन्दर बैजनी रंग भएको यो फूललगायत थप अरू सुन्दर फूल फुल्ने वनस्पतिहरू मिचाहा प्रवृत्तिका हुने गर्दछन् । यस्ता वनस्पतिहरू आफूलाई पायक पर्नेअनुकूल वातावरणमा हुर्कने गर्दछन् । आफ्नो संख्या बढाई स्वदेशी वनस्पतिको वासस्थानलाई हानी पुर्‍याउने गर्दछन् ।

नेपालमा करिब २१९ वटा बाहिय वनस्पतिहरू रहेका छन् त्यसमध्ये मिचाहा प्रवृत्तिका वनस्पतिहरू (Invasive alien plant species) २६ वटा रहेका छन् । कालो वनमारा, सेतो वनमारा, बेसरम, जलकुम्भी, किर्नेकाँडा, लहरे वनमारा, पातिझार, गन्धेझार, काँडेलुँडो, ताप्रे, तुलसीझार, करौँतेघाँस, कालोकुरो, पानवार, लज्जावतीझार, निलोगन्धेलगायतका अन्य २६ वटा वनस्पतिहरू रहेका छन् । यस्ता वनस्पति नेपालको पश्चिमक्षेत्र भन्दा पनि मध्य र पूर्विक्षेत्रमा बढी भेटिएको तथ्यांक रहेको छ । तराईको ६० मिटरदेखि उच्च पहाडको ३३०० मिटरसम्मको उचाईसम्म यि वनस्पतिहरु फैलिएका छन् । बाह्य वनस्पतिहरु नेपालमा सन् १८२० देखि फैलिन थालेको पाईन्छ । बाह्य मिचाहा वनस्पतिहरूको पनि बासस्थान फरक–फरक रहेको छ । केही सिमसारलगायत पानी प्रशस्त मात्रामा रहेको स्थानमा रहेर मिचाहा प्रवृत्ति देखाउने गर्दछन् । केही मिचाहा वनस्पतिले कृषि क्षेत्रलाई असर पारिराखेको हुन्छ ।

२६ वटा वनस्पतिहरूमध्ये अहिले सबैभन्दा बढी देखिएको मिचाहा वनस्पति भनेको लहरे वनमारा (Mikeniamacrantha) र वनमारा (Chromolaenaodorata) रहेको छ । लहरे वनमारा मध्य र दक्षिणी अमेरिकाबाट आयात भएको कुरा अभिलेख भएको छ । यस्ता वनस्पति जंगलको छेउछाउमा, सिमसारक्षेत्रतिर तथा कृषिक्षेत्रतिर बढि मात्रामा रहेको छ । यो वनमाराले प्रत्येक बर्ष करिब चालिस हजार बीउ उत्पादन गर्ने गर्दछ । यो वनस्पति डाँठबाट पनि उम्रने गर्दछ । एउटा लहरे वनमारा वनस्पतिले २५ मिटरसम्मको क्षेत्रफल ओगट्नुका साथै त्यस क्षेत्रफलभित्र रहेका स्वदेशी वनस्पतिहरूलाई हानी पुर्‍याउने गर्दछ । यस वनस्पतिले चितवन राष्ट्रिय निकुञ्जको २० प्रतिशत स्थानलाई प्रभावित पार्नुका साथै अन्य निकुञ्ज र कृषिक्षेत्रमा पनि असर पुर्‍याइरहेको छ ।

यसले घामको प्रकाशलाई अवरोध गरी प्रकाश संश्लेषण (photosynthesis) प्रक्रियालाई असर पुर्‍याइरहेको हुन्छ । यसबाट निस्किएको बायोकेमिकल (biochemical) ले पनि अरू वनस्पतिहरूको वृद्धि र विकासमा हानि पुर्‍याइरहेको हुन्छ । यसकारण त्यसमा निर्भर रहने जीवहरू बीच खान, बस्न र आफू बाँच्नका लागि प्रतिस्पर्धा गर्नलगायत अन्य क्रियाकलाप सिर्जना गरी हानि पुर्‍याइरहेको हुन्छ ।

यस्ता मिचाहा प्रवृत्तिका वनस्पतिहरूको नियन्त्रणका निम्ति स्वदेशी शोभनीय वनस्पतिलाई प्रयोगमा ल्याउन जरूरी छ । साथै स्वदेशी वनस्पतिको अस्तित्व संरक्षण गर्नका निम्ति पनि यसलाई अगाडि बढाउन जरूरीछ । विशेष मात्रामा शोभनीय वनस्पतिहरू आयात हुने भएकोले गर्दा स्वदेशी शोभनीय वनस्पतिलाई बढी मात्रामा प्रयोगमा ल्याउन आवश्यक छ भने केही वनस्पतिहरू प्रयोगमा समेत आएका पनि पाइन्छन् ।

केही स्वदेशी वनस्पतिहरू जस्तैः अपुताली, मगरकाँचे (Begonia picta), प्राइमुला (Primula), लालीगुराँस (Rhododendron), जमानेमान्द्रो (Mahonianepaulensis) लगायतका वनस्पतिहरू शोभनीय वनस्पतिकोरूपमा पनि प्रयोग भएको पाइन्छ ।

हिमालीक्षेत्रतिर जाडो मौसमको समयमा लालिगुराँस कोरातो सुन्दर फूलको मनमोहक दृश्य हामीले देख्न सक्छौं । स्वदेशी वनस्पतिहरू प्रयोगमा ल्याउनु पर्ने धेरै कारणहरू छन् । स्वदेशी वनस्पतिहरूमा प्रतिरोधक क्षमता बाहिरबाट आयात भएका वनस्पतिहरूमा भन्दा बढी हुने गर्दछ । त्यसैले स्वदेशी वनस्पतिहरूको उत्पादन मिचाहा वनस्पतिको नियन्त्रणका निम्ति पनि गर्न र गराउन जरूरी छ । वनस्पतिको सम्बन्ध या अस्तित्व त्यसमा निर्भर रहने जीवजन्तुसँग पनि हुने गर्दछ । स्वदेशी वनस्पतिले स्वदेशी परागकणहरूलाई (native pollinators) पनि आकर्षण गरी उनीहरूको अस्तित्व जोगाउनमा मद्दत पुर्‍याउनुको साथै इकोसिस्टम (ecosystem) लाई स्वस्थ बनाउनमा पनि मद्दत पुर्‍याइरहेको हुन्छ । स्वदेशी वनस्पतिहरूको फूल एकदमै सुन्दर हुने गर्दछ । स्थानीय वातावरणमा हुर्कने भएकोले तिनीहरुको हेरचाह वा मलजल कम मात्रामा गर्दा हुने र समयसँगै अरू महत्वपूर्ण प्राकृतिक स्रोतहरुको पनि बचत हुने गर्दछ । स्वदेशी वनस्पतिहरूको मौसम परिवर्तनसँग लड्ने क्षमता विदेशी वनस्पतिहरूमा भन्दा बढी हुने गर्दछ । नेपालमा कतिपय स्वदेशी वनस्पतिहरूको संरक्षण टिस्यु कल्चर (tissue culture) विधिबाट पनि गरिएको छ भने परस्थानीय (ex–situ) र स्वस्थानीय (in–situ conservation) विधिबाट संरक्षण पनि गरिएकोछ ।

मिचाहा वनस्पतिको नियन्त्रणका निम्ति अर्को उपाय भनेको यी वनस्पतिको पहिचान लगायत यी वनस्पतिको विस्तृत जानकारी सबैमा हुन एकदमै आवश्यक रहेको छ । यस्ता वनस्पतिहरूमा हर्बिसाइटको प्रयोग भन्दा पनि यस्ता वनस्पतिलाई फूल फुल्नुअघि नै जरैबाट उखेली खाडलमा व्यवस्थितरूपमा नियन्त्रण गर्नुका साथै उखेलेको ठाउँमा स्वदेशी वनस्पति लगाई हाल्नु पर्दछ । कतिपय वनस्पतिहरूलाई कम्पोष्ट मल, बायोचार (bio char) बनाई कृषिमा समेत प्रयोग गर्न सकिन्छ । कुनैपनि वनस्पति आयात गर्नुअघि त्यससम्बन्धी पूर्णरूपले अध्ययन गरेर मात्र आयात गर्नु पर्दछ । बाहिरबाट आयात भएका वनस्पतिहरूलाई केही समयका लागि क्वारिन्टिइनमा (Quarantine) समेत राख्नु पर्दछ । बाहिय मिचाहा वनस्पतिकोबारेमा नेपाल सरकारअन्तर्गतका अनुसन्धान केन्द्रलगायत विभिन्न निजी अनुसन्धान केन्द्रले चेतनामुलक कार्यक्रम गरी सर्वसाधारणलाई सचेत गराउनु पर्दछ । यसको नियन्त्रणका लागि अनुसन्धानकर्ताहरू थप अनुसन्धान कार्यमा जुटिरहेका छन् । बाह्य मिचाहा वनस्पतिअन्तर्गतका नियम गाइडलाइनको पालना गर्नु पर्दछ । प्राकृतिक सम्पदाको संरक्षण गर्नु हाम्रो दायित्व हो र सो दायित्व पूरा गर्नका निम्ति हामीले जानेका सिकेका ज्ञानहरू व्यवहारमा लागु गर्नुपर्दछ ।

(लेखक हेटौंडा–१० स्थित सार्क विजनेश कलेज (साविक नारायणी कलेज) मा प्राध्यापनरत हुनुहुन्छ ।)