फाईल तस्वीर ।

हेटौंडाः हेटौंडाका १० जना साइकलयात्री चीनसँगको सीमानाका क्षेत्र रसुवागढीदेखि भातरसँगको सीमानाका क्षेत्र ठोरी (उत्तर–दक्षिण) सम्मको साइकलयात्रा पूरा गरी बिहीबार साँझ हेटौंडा फर्किएका छन् । हिमालयन राईडर्स सोसाईटीको संयोजनमा आइतबार रसुवागढी नाकाबाट साइकलयात्रा सुरु गरी पर्साको ठोरी नाकासम्मको करिब ४५० किलोमिटर यात्रा तय गरेका हुन् । सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यको संयोजकत्वमा १० जनाको टोली शनिबार केरुङतर्फ गएका थिए ।

साइकलयात्रीलाई ठोरीका स्थानीयले स्वागत गरेका थिए । बारा राईडर्स एसोसिएसनको आतिथ्यमा साइकलयात्री बुधबार ठोरीमा यात्राको गतिबिधि जानकारी दिने, त्रिदेशीय व्यापारिक नाकालाई सुधार गरी नेपालले कस्तो लाभ लिन सक्छ ? भन्ने विषयमा बहस गरिएको थियो । बारा राईडर्सका अध्यक्ष शेषराज अधिकारीलगायत ७ जनाको टोली साइकलयात्रीलाई स्वागत गर्न सिमराबाट ठोरी पुगेका थिए ।

टोलीमा सोसाइटीका उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्य पनि सहभागी हुनुहुन्थ्यो । त्यस्तै सोसाइटीका महासचिव एवम् ईन्जिनियर सागर पन्थी, सचिव राजु रानामगर, कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सदस्यहरु बुद्धिबहादुर आले, बुद्धराम श्रेष्ठलगायत सहभागी थिए । टोलीमा सिमरा राईडर्स एसोसिएयसनका ३ जना साइकलयात्री सहभागी थिए । बारा राईडर्सका कोषाध्यक्ष रामेश्वर बास्कोटा, सदस्य हरेराम आचार्य र रामहरि सुबेदी सहभागी थिए ।

विश्वव्यापी रुपमा पृथ्वीको तापमान बढ्दै गएको, पेट्रोलियम पदार्थको मूल्यबृद्धि, नेपालको चुलिँदो व्यापारघाटा, दैनिक उपभोग्य बस्तुमा तीब्र मिसावटका कारण बिग्रँदो जनस्वास्थ्य आदि पक्षमा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने साईकललाई दैनिकी बनाउने अभियानका साथ साइकलयात्रा गरिएको टोलीका सदस्य आचार्यले बताउनुभयो ।

आइतबार रसुवाको केरुङ नाकाबाट सुरु गरिएको साइकलयात्रा नुवाकोट, धादिङको मलेखुबाट चेपाङमार्ग हुँदै चितवनको भण्डारा निस्किएको थियो । चितवन राष्ट्रिय निकुन्ज हुँदै माडी, ठोरीको यात्रा गरिएको साइकलयात्रीहरुले बताएका छन् ।