जमुना थिङरअञ्जना तामाङ
हेटौंडाः रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा आज मनाइँदैछ । दुई वर्षदेखि कोरोना महामारीका कारण होलीको चहलपहल कम भए पनि हर्षोल्लासपूर्ण रुपमा यो पर्व मनाइँदै आएको छ ।
विभिन्न धार्मिक संघसंस्था, सहकारी, विद्यालय र अन्य संघसंस्थाले होलीको एक दुई दिनअघि नै होली पर्व मनाउन सुरु गर्दछन् । होलीको अघिल्लो दिन बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले होली विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको छ भने होलीकै दिन आज भूटनदेवी रोभररेन्जर क्रयूले पनि कार्यक्रम गर्दैछ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना महामारी कायम नै रहेकाले होलीको नाममा होहल्ला तथा धेरै जम्काभेट गरी कार्यक्रम नगर्न आग्रह गरेको छ । हेटौंडाको स्कूलरोड, बुद्वचोक र विभिन्न सार्वजनिक क्षेत्रदेखि गाउँगाउँमा विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरेर होली मनाउने गरिएको थियो ।
इतिहासकारहरूका अनुसार यो पर्वको प्रचलन आर्यहरूमा पनि रहेको छ । नारद पुराण र भविष्य पुराणजस्ता प्राचिन ग्रन्थहरूमा यस पर्वको बारेमा वर्णन गरिएको छ । भारतको रामगढमा ईसापूर्व ३ सय वर्ष पुरानो एउटा अभिलेखमा यस पर्वबारे चित्रण गरिएको छ ।
संस्कृत साहित्यमा बसन्त ऋतु र बसन्तोत्सवको रुपमा फागु पूर्णिमा अर्थात् होलीको वर्णन गरिएको पाइन्छ । नेपालमा निकै हर्षोल्लासका साथ मनाइने यस पर्व दशैंतिहारजस्तै गरी मनाइन्छ । होलीको करिब एक हप्ताअघि काठमाडौंको बसन्तपुर दरवारअगाडि चिर ठड्याएर होलीको सुरुवात गरिन्छ । होलीको अघिल्लो साँझ ‘होलिका दहन’ गर्ने गरिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका परम् भक्त हिरण्यकश्यपुका छोरा प्रल्हादलाई मार्न अग्निमा आशन गर्दा होलिका आफैं जलेर नष्ट भएको र असत्यमाथि सत्यको जित भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।
हिन्दू धर्म मान्नेहरूको बाहुल्यता रहेको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाइन्छ । नेपालमा पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलिपल्ट तराईमा होली मनाइन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले शहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । नेपालका गाउँहरुमा पनि होली भब्यताका साथ मनाइन्छ ।
होलीमा पानी छ्याप्ने, अबिर, केशरीलगायत रङ लगाउने चलन छ । वर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसंगतिहरू पनि भित्र्याइरहेको छ । होलीमा इच्छाविपरित रङ दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, मादकपदार्थ र नशालु पदार्थ खाएर होहल्ला गर्नेजस्ता विकृति होलीमा देखिने गरेको छ ।
होलीको अवसरमा बजारमा बिक्री गरिने रंगहरुमा भने हानिकार पदार्थ मिसाउने र महंगो मूल्य लिने गरेको पाइन्छ । मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने पदार्थहरु रंगमा मिसाएर बिक्री गर्ने गर्दा त्यसको प्रयोगबाट विभिन्न स्वास्थ्य समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ । बजारमा खरिद गरेको भन्दा दोब्बर मूल्य लिएर रंग, बेलुन ९लोला०, पिच्कारी तथा होलीका अन्य सामग्री बिक्री गर्ने गरेको पाइन्छ । भारतबाट आयात हुने यस्ता सामग्रीमा हुने गरेको कालोबजारी नियन्त्रणका लागि प्रशासनको ध्यान जानु जरुरी रहेको छ ।