सम्प्रास पौडेल (लेखक सिस्नुपानी मकवानपुर सदस्य हुनुहुन्छ)


एक छिन ल !
हाँस्यव्यङ्ग्य
– सम्प्रास पौडेल

नाम एकातिर काम अर्कातिर ।
फेसबुक चिया पसल । इमो होटल । ट्वीटर खाजा घर । टिकटक बिसाउनी ।
काम एकातिर ठाम अर्कातिर ।

होटल बेचेको वर्षौंपछिसम्म त्यसको सटरमा ग्यारेज राखिएको छ । त्यहाँ लेखिएको छ– ‘यहाँ चिया, खाजानास्ता पाइन्छ ।’ होटलमा चिया र दुनोट खान छिरेको मान्छेले त्यहाँ दुनोटजस्तै टायर र ट्यूब देखेर दंग पर्दो हो । सोध्दो हो ‘भाइ दुनोट त देखियो अब चिया उ त्यो ड्रमभित्र हो ?’
उता ‘यहाँ मोटरसाइकल मर्मत गरिन्छ’ लेखिएको सटरमा सलुन राखिएको छ । यसो साइड लाइट मिलाउँ भनेर छिर्दा के पो मिलाइदिने हुन् !
मोटरसाइकलको ऐना बदल्न जाँदा ऐनैऐना हेरेर दंग फर्केर फर्कनु पर्ला । बस्ने सिट मर्मत गर्न जाँदा ‘दाइ बस्ने कुरा त होइन टाउकाको कपाल र दाह्रीचाहिँ मिलाइन्छ’ भन्दा हुन् ।

गाम एकातिर नाम एकातिर ।
तनहुँ होटल काठमाडौंमा । झापाली होटल हेटौंडामा । होटल माउन्टेन भ्यू जनकपुरमा ।
नामको यतिको जाम पनि बुझिनसक्नुको छ ।
त्यति मात्र कहाँ हो र ? मान्द्रो रेष्टुरेन्टमा पक्का पर्खाल र ढलान मात्रै देखिन्छ । डोको रेष्टुरेन्टमा कुर्सीमा बसेर पिज्जा खानुछ । नाङ्लो रेष्टुरेन्टमा प्लाष्टिकको नाङ्लो भित्तामा टाँसिएको छ । नाम्लो, थुन्चे र टोकरी रेष्टुरेन्टमा के पो होला ?
गार्डेन रेस्टुरेन्टमा रूख बिरूवा त त्यस्तै हुन्, गमला पनि रित्ता छन् । साइलीको भट्टी जेठीले चलाएकी छिन् । साइँलीचाहिँ माइलीको चट्पटे पसलमा काम गर्छिन् । भट्मास र लोकल रक्सीको भट्टीमा झट्टी पाएर स्वास्थ्य नै ह्रासकट्टी भैरहेको छ ।


अझै थप प्रमाण खोज्दै जाउँ । टुप्पीको ढिँडो होटलमा जगल्टे भात पकाउँछ । पाते होटलमा चरेसका थालमा खान पाइन्छ । दुनाटपरी रेष्टुरेन्टले दुना टपरीमा खाना दिँदैन । गुन्द्रुक ढिँडो होटलमा मैदाका गुन्द्रुक अर्थात् चाउमिन पाक्ने गरेको छ । ‘यी सबैलाई खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने ?’ भनौं भने पनि पशुको पहिचानमाथि धावा बोले झैं हुन के बेर रु तथापि पापी पेट लान्द्रो भर्ने नाममा खुलेका नाम, ठाम, गाम र काम नमिलेका होटलबारे लेखेर हाँस्यव्यङ्ग्यको नयाँ स्वाद आयो कि आएन कुन्नि ! जय सिस्नुपानी ।
(लेखक सिस्नुपानी मकवानपुर सदस्य हुनुहुन्छ ।)