हेटौंडाः नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले आसन्न निर्वाचनमा विधिसम्मत् उम्मेदवार चयन गर्ने बताउनुभएको छ । आइतबार हेटौंडामा काँग्रेस मकवानपुरले आयोजना गरेको निर्वाचन लक्षित ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश सभापति बानियाँले निर्वाचनलाई परिणामुखी बनाउनुपर्ने बताउनुहुँदै हिजो मेयरको टिकट पाएकाले आज टिकट नपाउने स्थिति आउने बताउनुभयो ।
उहाँले आफु केन्द्रीत राजनीति नगर्न सबैलाई अनुरोध गर्नुभयो । पार्टीको कुनै पनि पदमा नभएका व्यक्ति पनि परिचित भए टिकट पाउने बानियाँले स्पष्ट पार्नुभयो । ‘निर्वाचनलाई परिणाममुखी बनाउनु पर्छ । हिजो मेयरको टिकट पाएकाले आज नपाउन सक्छ, वडा अध्यक्षले टिकट नपाउन सक्छ । सबैले रुख चिन्हलाई भोट हाल्ने हो । पार्टीको नीति र योजनाले भोट पाउने हो । टिकट कसले पाउँछ भन्ने ठूलो कुरा होइन ।” उहाँले पार्टीको नीति, विधिअनुसार टिकट वितरण हुने जानकारी गराउँदै कसैले म नभए पार्टीले जित्दैन भन्नु गलत रहेको स्पष्ट पार्नुभयो । जिल्लास्तरीय संयन्त्रले टिकटका लागि सिफारिस गर्ने भन्दै उहाँले धरौटी नै जफत हुनेगरी उम्मेदवार बन्न नहुने धारणा राख्नुभयो । कार्यक्रममा उहाँले पार्टी भित्रको तिक्ततालाई बिर्सेर पार्टीको उम्मेदवारलाई कठोर भएर मतदान गर्न सबैलाई निर्देशन दिनुभएको छ ।
काँग्रेस जित्नका लागि मात्रै लड्दैन भन्दै विधिलाई कायम राख्न लड्ने बानियाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सशस्त्र द्वन्द्वमा लागेकाहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु, एमसीसीका विरोधीलाई पनि सहमतिमा ल्याउनु, माओवादी र समाजवादीलाई सँगसँगै लिएर हिँड्नु हाम्रो उपलब्धि हो ।” नेपालमा द्वन्द्व घटाउन र विकासमा सघाउन एमसिसि परियोजना आएको स्पष्ट पार्दै उहाँले गरिबीमाथि खेल्ने कम्युनिष्टको रणनीतिलाई बिफल तुल्याउँदै एमसिसी पारित गरिएको दावी गर्नुभयो ।
‘अघिल्लो निर्वाचनमा मकवानपुर जिल्लाका १०२ वडामा ३१ वडा जितेका थियौं’, उहाँले भन्नुभयो, ‘सबै जित्न सक्छौं भन्नु हाम्रो भ्रम हो । ३१ बाट ६२ हुन सक्छ ।’ भुगोल अनुसार पार्टीको अवस्था र आवश्यक रणनीति बनाउन वडा सभापतिले सुझाव दिनु जरुरी रहेको उहाँले बताउनुभयो । आवश्यकता अनुसार गठबन्धन हुने स्पष्ट पार्दै उहाँले टिकट वितरणमा गलत गरे माथिल्लो इकाईले दण्डित गर्ने समेत जानकारी दिनुभयो ।
घोषणा सभामा काँग्रेस मकवानपुरका निवर्तमान उपसभापति विष्णुप्रसाद लामिछानेले हिजो मकवानपुरमा काँग्रेस निरीह अवस्था रहेको स्मरण गर्दै अघिल्लो निर्वाचनले पन्चे र बामपन्थीहरुको किल्ला भत्काइदिएको बताउनुभयो । आगामी निर्वाचनमा मकवानपुरलाई काँग्रेसको किल्ला बनाउन १० वटै पालिकामा काँग्रेस विजयी हुनुपर्ने लामिछानेले बताउनुभयो । नेपाली काँग्रेस मकवानपुरका उपसभापति आनन्द कठायतले कार्यक्रममा हेटौंडा उपमहानगरका १९ वटै वडामा खटिने जिल्ला प्रतिनिधिको नाम सार्वजनिक गर्नुहुँदै केन्द्रीय प्रतिनिधि गुरुराज घिमिरेमार्फत नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका रामचन्द्र अर्यालले पार्टीको चुनावबाट आन्तरिक परीक्षा सकिएको भन्दै विधान अनुसार पार्टीको निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले बैशाख ३० गते हुने निर्वाचन काँग्रेसको सरकार बनाउने अवसर भएको स्पष्ट पानुभयो ।











