
हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचन लक्षित नेपाली काँग्रेसको अभियान सुरु भएको छ । आइतबार देशभर एकसाथ अभियान सुरु गरिएको छ । मकवानपुरमा नेपाली काँग्रेस केन्द्रबाट खटिएर आउनुभएका प्रतिनिधि गुरुराज घिमिरेले अभियानमा काँग्रेस नेताको भूमिकाबारे अभिमुखीकरण गराउनुभएको छ ।
१ महिने अभियान जनताको घर ढक्ढकाउने र जनतालाई झक्झक्याउने अभियान भएको नेता घिमिरेले स्पष्ट पार्नुभएको छ । आईतबारबाट सुरु भएको अभियान अन्तर्गत केन्द्रबाट खटिएर मकवानपुर जिल्ला आउनुभएका घिमिरेले स्थानीय र संसदीय निर्वाचनलाई सघाउन अभियान संचालन गरिएको बताउनुभयो । जिल्ला प्रतिनिधिले वडामा गएर एक हप्ताभित्र पार्टीको अवस्थाको प्रतिवेदन केन्द्रमा बुझाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । उहाँले अभियानमा घर–घरमा पुगेर वडा प्रतिनिधिले जनतालाई मताधिकार प्रयोग गर्न प्रेरित गर्ने, नेपाली काँग्रेसलाई नै किन मत हाल्ने भनेर बुझाउने, काँग्रेसले विगतमा गरेको काम, राजनीतिक परिवर्तनको कुरा मात्रै होइन, विकासका लागि गरेको कामको कुरा गर्न प्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।
नेता घिमिरेले वडा–वडामा खटिने प्रतिनिधिले काँग्रेसको अगुवाइमा भएको विकासको कामलाई जनतासम्म बुझाउनुपर्ने उल्लेख गर्नुहुँदै नेपालमा कम्युनिष्टले केही पनि नगरेको जीकिर गर्नुभयो । ‘४१ महिनामा केपी ओली नेतृत्वको सरकारले खोपदेखि औषधिसम्ममा कमिसन खाएको कुरा जनतालाई भन्नुस्’, घिमिरेले भन्नुभयो, ‘संविधानमाथि, लोकतन्त्रमाथि केपी ओलीले गरेको प्रहारको विषयमा जनतालाई बुझाउँदै काँग्रेस हारे लोकतन्त्र हार्ने बुझाउन्स् ।’

‘घरघरमा जाऔं, काँग्रेसलाई जिताऔं’ भन्ने नाराका साथ सुरुवात गरिएको अभियानमा वडामा खटिने प्रतिनिधिले वडामा एउटा भेला गरेर फर्किने नभई टोल–टोलमा गएर साथीहरुबीचमा सौहाद्र्धपूर्ण व्यवहार स्थापित गर्नुपर्ने स्पष्ट पार्नुभयो । आन्तरिक आयले चालु खर्च धान्न नसक्ने नेपालका लागि एमसिसी परियोजना महत्वपूर्ण उपलब्धि भएको पनि नेता घिमिरेले दावी गर्नुभयो ।
एक महिने अभियानमा आसन्न निर्वाचनमा पहिलो पटक मतदान गर्ने समुहलाई मतदानको महत्वबारे बुझाउने, मतदाता शिक्षा सन्चालन गर्ने, भातृ र शुभेच्छुक संस्थाको सहयोग लिने, कार्यक्रम–क्रियाकलाप गर्ने, सामाजिक सञ्जालको उपयोग गरी पार्टीका गतिविधि प्रचार गर्ने, स्थानीय सन्चार माध्यममार्फत प्रचारप्रसार गर्ने, घोषणापत्र तयार पार्ने, जनधारणा बुझ्ने लगायतको कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
पार्टीको अधिवेशनको ह्यांगओभर त्यागेर एकताबद्ध हुनुपर्ने भन्दै उहाँले स्थानीय निर्वाचन विपक्षीसँगको प्रतिस्पर्धा भएको स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो, “काँग्रेसले हार्दा लोकतन्त्र हार्छ । कम्युनिष्ट नेताहरुले चीनको विकासलाई देखाउने गरेको छ । चीनको विकास मानव विकास होइन । चीनको विकास सुकुम्बासी बस्तीको बीचमा धनाढ्यले महल बनाए जस्तै हो । शासन प्रणालीको विरोधमा बोल्न पाइँदैन । संसारभर प्रजातान्त्रिक मुलुकको मात्रै विकास भएको छ ।” नेता घिमिरेले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामा खटिने प्रतिनिधिलाई प्रतिनिधि नियुक्त गरिएको पत्र हस्तान्तरण गर्नुभयो । अभियान घोषणा सभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, वडा सभापति, पालिका, प्रदेश, संघीय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।










