
हेटौंडाः बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले मनहरी–मलेखु सडक खण्डको शनिबार स्थलगत अवलोकन गर्नुभएको छ । सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजाले भौतिक पूर्वाधार विकास मन्त्रालयले मनहरी–मलेखु सडक स्तरोन्नतीको लागि करिब एक अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको जानकारी दिनुभयो ।
राज्यमन्त्री प्रजाका अनुसार करिब एक अर्ब रुपैयाँको समपुरक अनुदानको प्रस्ताव प्रदेशमार्फत् संघीय सरकारमा पठाइसकिएको छ । उहाँले भन्नुभयो, ‘आगामी वर्ष प्रदेश सरकार र संघीय सरकारले गरेर सो सडकमा करिब १ अर्ब रुपैयाँ लगानी गर्दैछ । यसै वर्ष पनि लोजा–जिनाई खण्डमा काम गर्नको लागि हामीले आर्थिक मामिला मन्त्रालयमा प्रस्ताव पठाइसकेका छौं ।’ मकवानपुरको मनहरीबाट राक्सिराङ गाउँपालिकाको विभिन्न वडा हुँदै धादिङको बेनिघाट रोराङबाट मलेखु छिचोल्ने सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजा मलेखुसम्म पुग्नु भएको हो ।
शनिबार राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिृकृत देवचन्द्र गर्तौलासहितको टोलीले मनहरी मलेखु सडकको स्थलगत अवलोकन गरी स्तरोन्नती गर्नुपर्ने भागहरुको पहिचान समेत गरिएको छ । हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा हेरिएको मनहरी–मलेखु सडकको ट्रयाक केही दिनअघि मात्रै पूरा भएको हो । करिब ३ वर्षअघिबाट राक्सिराङ गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले मनहरी–मलेखु जोड्ने सडकको निर्माण सुरु गरेकोमा बेनिघाट रोराङ गाउँपालिकाले केही समयअघि मात्र मकवानपुरको सिमानासम्म ट्रयाक जोडेको हो ।
दुई गाउँपालिकाको अगुवाईमा प्रदेश र प्रतिनिधिसभाका सांसदहरुकोसमेत जोडबलमा उक्त सडकको ट्रयाक पूरा भएपछि निकट भविष्यमै हेटौंडा–चितवन–काठमाडौं जाने सडकको विकल्प तयार हुने पक्का भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभएको छ । मनहरीदेखि मलेखुसम्मको सडकको दूरी जम्मा ५२ किलोमिटर मात्रै छ । बाह्रै महिना सडक सञ्चालनको लागि राक्सिराङ गाउँपालिकाले सो सडक अन्तर्गत ४ नम्बर वडास्थित परेवाभीरमा रिटेनिङ वाल उठाएर बाटो बनाउने काम गरिरहेको छ भने अन्य विभिन्न भागमा स्तरोन्नतीको कामसमेत गरिरहेको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । दुई गाउँपालिकाको पहलमा सडकको ट्रयाक पूरा भएपछि त्यसलाई दीगो बनाउनको लागि बागमती प्रदेश सरकारले पनि चासो दिएको हो । मनहरीबाट मलेखुसम्मको सडकमा सवारी चल्न थालेपछि मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिका तथा धादिङको बनिघाट रोराङ गाउँपालिकाको विकासले फड्को मार्ने विश्वास लिइएको छ ।










