दन्त परीक्षण गरिँदै ।

हेटौंडाः हेटौंडा–१८ स्थित हर्नामाडी हेल्थ पोष्टमा निःशुल्क बृहत् दन्त शिविर सम्पन्न भएको छ । शिविरमा १४४ जनाको दन्त परीक्षण गरी उपचार गरिएको छ ।

वरिष्ठ डेन्टल सर्जन प्राध्यापक डा. मनोज उपाध्यायको नेतृत्वमा ८ जना चिकित्सकहरुको टोलीद्वारा शिविरमा परीक्षण गरिएको थियो । ४ वर्षदेखि ८६ वर्षका स्थानीयहरुको उपचार गरिएको शिविरमा करिब ४५ जनाको दाँत उखालिएको थियो । केही दन्त रोगीहरुको सामान्य उपचारपछि औषधी वितरण गरिएको रोट्रयाक्टर सरोज देवकोटाले जानकारी दिनुभयो ।

वरिष्ठ चिकित्सक डा. मनोज उपाध्यायका अनुसार अधिकांश दूधे बालबालिकालाई बोत्तलबाट दूध खुवाउँदै सुताउने कारण त्यसको इन्फेक्सनबाट धेरै जना दन्त रोगबाट पीडित भइरहेका छन् । यस्तै, जङ्कफुड, चकलेट, विभिन्न प्रकारका स्वादिला निप्पलहरुसमेत दन्त रोगका मुख्य कारणहरु रहेको उहाँले बताउनुभयो ।

शिविरका लागि आवश्यक औषधी १८ नम्बर वडा कार्यालयबाट प्राप्त भएको थियो । त्यस्तै, सम्पूर्ण बिरामीहरुलाई एक सेट ब्रस र मञ्जनसमेत निःशुल्क उपलब्ध गराई दाँत सफा गर्ने बारेमा सहजीकरण गरिएको थियो ।

रोटरी क्लब अफ हेटौंडाको विशेष पहलमा रोट्रयाक्ट क्लब अफ हेटौंडाद्वारा आयोजना गरिएको शिविरमा वडा नम्बर १८ का अध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम रोट्रयाक्ट क्लब अफ हेटौंडाका अध्यक्ष रवि पौड्यालको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा रोटरी क्लब अफ हेटौंडा अध्यक्ष रामप्रसाद शर्मा, स्वास्थ्य चौकीका प्रमुख रामकृष्ण खतिवडालगायतको उपस्थिति रहेको थियो ।

क्लबले २ हप्ता अगाडि मकवापनुरगढी गाउँपालिका वडा नम्बर–४ को सरस्वती विद्यालयमा ७० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री सहयोग गरेको थियो । विद्यार्थीलाई वर्ष भरि पुग्ने गरी करिब ३० हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गरेको क्लबका अध्यक्ष पौड्यालले जानकारी दिनुभयो ।