हेटौँडा : खानेपानी धाराको मिटर चोरी गरेको अभियोगमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार राती १ बजेर ३० मिनेटको समयमा हेटौँडा–४, भुवनसिंहपथस्थित यम बहादुर लामिछानेको घरको खानेपानी धाराको मिटर चोरीमा संलग्न भएको अभियोगमा हेटौँडा–२, वनस्खण्डीमा डेरा गरी बस्ने २१ वर्षीय सुरेश कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी टोलीले हुलियाको आधारमा खोजी गर्ने क्रममा बिहीबार साँझ साढे ६ बजेको समयमा कुमाललाई पक्राउ गरिएको बताइएको छ । कुमालको साथबाट चोरी भएको मोटरसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । मकवानपुर जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा ७ दिन म्याद लिएर कुमाललाई हिरासतमै राखेर अनुसन्धान गर्न सुरु गरेको प्रहरीले जनाएको छ । केही समययता खानेपानी धाराको मोटर चोरीका घटना व्यापक भइरहेको भन्दै हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले सतर्कता अपनाउन उपभोक्तालाई आग्रह समेत गरेको छ ।











