हेटौंडाः मकवानपुरमा कोभिड–१९ व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको आदेशहरु पुर्ण रुपमा हटाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने भएको छ । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) को बैठकले यस्तो गर्ने निर्णय गरेको हो ।
यसअघि विभिन्न मितिमा प्रमुख जिल्ला अधिकारीले जारी प्रतिबन्धात्मक आदेशहरू सोमबारदेखि लागू हुने गरी पूर्ण रूपमा हटाउन प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गर्ने गरेको हो । आगामी दिनमा कोभिड–१९ को संक्रमण फैलिन नदिन सामाजिक, सांस्कृतिक, राजनीतिक, व्यावसायिक, औद्योगिक लगायतका गतिविधि सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्डहरू निरन्तर अवलम्बन गर्ने, गराउने बैठकले निर्णय गरेको छ ।
जिल्लाभित्र कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउने कार्यमा निरन्तर समन्वय, सहकार्य तथा सहयोग प¥याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कार्यालय, राजनीतिक दल, जनप्रतिनिधि, गैरसरकारी संस्था, उद्योगी व्यवसायी, यातायात व्यवसायी, होटेल व्यवसायी, सञ्चारकर्मी, नागरिक समाज लगायत सम्पूर्ण जिल्लावासीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्ने बैठकले निर्णय गरेको छ ।