सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डे ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले परिवारमै मानव अधिकार उल्लङ्घनका घटना भइरहेको बताउनुभएको छ । शुक्रबार बिहान हेटौंडामा राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेशस्तरीय सम्मेलनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले समाजमा लैङ्गिक विभेदका घटना कायमै रहेसम्म मानव अधिकार हनन्को अन्त्य नहुने बताउनुभयो ।

मानव अधिकारलाई स्थापित गर्न सामाजिक मर्यादा, समानता र स्वतन्त्रताको अधिकारसम्बन्धी नारा घरभित्रै लागु गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनु भयो । नेपालमा अझै पनि बोक्सीको आरोप र छाउपडि प्रथा मानव अधिकार उल्लंघनकै घटनाको रुपमा परिवार र समाजमा कायमै रहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । संघीयता लागु भएपछि महिला, दलित महिलालाई जनप्रतिनिधिको भूमिकामा सुनिश्चित गर्दै गर्दा उनीहरुको अधिकार स्थापित हुँदै जाने आधार तयार भएको मुख्यमन्त्री पाण्डेको धारणा थियो ।

३३ प्रतिशत महिला सहभागितासम्बन्धी व्यवस्थाले पनि महिलाको अधिकार स्थापित गर्न सहयोग पुगेको उहाँले बताउनुभयो । सम्मेलनको उद्घाटनकै अवसरमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापाले समाजमा जातको आधारमा विभेद भएको उल्लेख गर्नुभयो । सरकारले बनाएको मानव अधिकारसम्बन्धी व्यवस्थालाई कार्यान्वयनमा ल्याउँदा मानव अधिकार स्थापित गर्न सहयोग पुग्ने आयोगकी सदस्य थापाले दावी गर्नु भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञ अधिकारीले मानव अधिकार रक्षकहरुको अवस्थाको बारेमा छलफल, अध्ययन र विश्लेषण गर्न दुई दिने सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा देशको सातै वटा प्रदेशमा दुई दिने मानव अधिकार रक्षक सम्बन्धी प्रदेशस्तरीय सम्मेलन भोलि शनिबारसम्म चल्नेछ ।