हेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन विज्ञान संकायमा स्नातक तह अध्ययनका लागि विद्यार्थीले शनिबार बिहान प्रवेश परीक्षा दिएका छन् । वन विज्ञान संकाय डीनको कार्यालयले प्रवेश परीक्षाको नतिजा शनिबार साँझै सार्वजनिक गर्ने तयारी गरेको छ । प्रवेश परीक्षाको उत्तरपुस्तिका कम्प्युटर सफ्टवेयरबाट परीक्षण गरेर विद्यार्थीको प्राथमिकताको सूचि सार्वजनिक गरिने कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन विज्ञान संकायका उपप्राध्यापक ज्ञानवन्धु शर्माले जानकारी दिनुभएको छ ।
प्रवेश परीक्षामा सहभागी हुन ८ सय ५१ जना विद्यार्थीले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ३३ जना विद्यार्थी अनुपस्थित भएको उपप्राध्यापक शर्माले जानकारी दिनुभएको छ । हेटौंडास्थित वन विज्ञान क्याम्पस, हेटौंडा–१० स्थित तुलसीमेहर मेमोरियल स्कूल र हेटौंडा–४ स्थित ब्रह्मदिक एकेडेमीमा परीक्षा केन्द्र तोकिएको थियो । शनिबार बिहान ११ बजेदेखि प्रवेश परीक्षा सुरु भएको हो । ९० मिनेटको प्रवेश परीक्षामा विद्यार्थीले १ सय २० वटा वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने थियो ।
हेटौंडास्थित केन्द्रीय क्याम्पस, उदयपुर जिल्लाको कटारीस्थित आंगिक क्याम्पस र नवलपुर जिल्लास्थित सिद्धान्त कलेजमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन संकायअन्तर्गत ४ वर्षे स्नातक तहमा वन विज्ञान विषय अध्यापन हुन्छ । हेटौंडामा ९० जना, कटारी र सिद्धान्त कलेजमा ५०/५० गरी कुल १ सय ९० जना विद्यार्थीले स्नातक तह अध्ययनको अवसर पाउनेछन् ।