गुगल तस्बिर ।

हेटौंडाः कोरोना महामारीको तेस्रो लहरको सम्भावित जोखिमका कारण बन्द गरिएका मकवानपुर जिल्लाका शैक्षिक संस्थाहरुमा आजबाट पठनपाठन सुचारु हुने भएको छ । करिब एक महिनाअघिबाट बन्द रहेका विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाहरुमा आज आइतबारबाट विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु हुन लागेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गत सोमबार फागुन १ गतेबाट विद्यालय खुला गरी पठनपाठन सुचारु गराउन आदेश जारी गरिएपछि जिल्लाका स्थानीय तहहरुले विद्यालय खोल्ने निर्णय गरेका हुन् । आदेशमा विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी २०७८ साल फागुन १ गतेबाट सञ्चालन गर्ने व्यवस्था शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र स्थानीय तहहरुले मिलाउन भनिएको थियो । जिल्ला प्रशासन कार्यालयको आदेशबमोजिम स्थानीय तहहरुले १२ वर्ष उमेर पूरा भएका (कक्षा ६ देखि माथिका) विद्यार्थीको हकमा नियमितरुपमा तथा १२ वर्ष पूरा नभएका (कक्षा ५ सम्मका) विद्यार्थीको हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन् ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन तथा सञ्चालन केन्द्र एवम् शिक्षा मन्त्रालयले पनि विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सिफारिस गरेको थियो । स्वास्थ्य मापदण्डको पालना गर्दै करिब एक महिनापछि विद्यालय खोल्ने निर्णय भएसँगै पठनपाठन सुचारु हुने भएको हो ।
पछिल्लो समय कोभिड–१९ को संक्रमण दर कम हुँदै गएको र विद्यालहरुको वार्षिक परीक्षा नजिकिएसँगै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्न सरोकारवालाहरुले आग्रह गरेका थिए । शिक्षक संघ संगठन, प्याब्सन, एनप्याब्सन, अभिभावक संघ, शिक्षाविद्लगायतले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पठनपाठन सुचारु गर्न सुुझाव दिएका थिए ।

हेटौंडा उपमहानगरपालिकाले गत शुक्रबार भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर विद्यालयमा पठनपाठन सुचारु गर्ने तयारीस्वरुप हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयका प्रधानाध्यापकहरुको बैठक गरेको थियो । बैठकमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएकाले फागुन १ गतेदेखि उनीहरुको नियमित कक्षा सञ्चालन हुने निर्णय गरेको थियो । बैठकले कक्षा ५ सम्म भने आलोपालो गरेर कक्षा सञ्चालन गर्ने निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुुभयो ।

स्वास्थ्य मापदण्ड अपनाएर कक्षा ६ देखि माथिको नियमित कक्षा सञ्चालन गर्न र केही दिन कक्षा ५ सम्म आलोपालो गरेर कक्षा सञ्चालन गर्न बैठकमा सहभागी प्रधानाध्यापकहरुले सुुझाव दिएका थिए । साथै, बैठकले आधारभूत तह उत्तीर्ण (कक्षा ८ को) परीक्षा एसईईको परीक्षास“गै बैशाख ९ गतेदेखि र विद्यालय तहका अन्य कक्षाका परीक्षा चैत २५ गतेपछि सञ्चालन गर्ने निर्णयसमेत गरेको थियो ।

जिल्लाको भीमफेदी गाउ“पालिकाले सूचना प्रकाशन गरी फागुन १ गतेबाट विद्यालय तहको पठनपाठन सञ्चालन गर्ने जनाएको छ । गाउ“पालिकाले गत बुधबार सूचना प्रकाशन गरी जनस्वास्थ्य र सुरक्षाका सबै मापदण्ड अपनाएर १२ वर्षमाथिका विद्यार्थीको हकमा नियमित कक्षा सञ्चालन गर्ने अनुरोध गरेको छ । १२ वर्षभन्दा कम उमेरका विद्यार्थीको हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने गरी विद्यालय सञ्चालन गर्न अनुरोध गरिएको गाउ“पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत करुणा रिसालले जानकारी दिनुुभयो ।

राक्सिराङ गाउ“पालिकाले पनि विद्यालय तहको पठनपाठन फागुन १ गतेबाट सुचारु गर्न गत बुधबार सूचना प्रकाशित गरी अनुरोध गरेको छ । गाउ“पालिकाले मकवानपुरका प्रमुख जिल्ला अधिकारीबाट गत सोमबार जारी आदेश र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरबाट गत मंगलबार दिइएको निर्देशनबमोजिम विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको राक्सिराङ गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुुभयो ।

करिब एक महिनाअघि कोरोना भाइरसका संक्रमित बढेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय पुस २७ गतेदेखि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो । संक्रमणको जोखिम कायमै रहेको भन्दै पुुनः माघ २९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय मन्त्रालयले गरेको थियो ।

बन्दको समयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभए पनि अधिकांश शैक्षिक संस्थाहरुले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम अनलाइनलगायत माध्यमबाट सिकाइ सहजीकरण गरिरहेका थिए । विद्यालय बन्द भएकै समयमा केही दिन खोप लगाउने प्रयोजनका लागि विद्यालयहरु खुला गरिएका थिए । उक्त समयमा मकवानपुर जिल्लाका अधिकांश विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाइएको थियो ।