हेटौंडा–१३ स्थित वनस्पतिकी एक किशोरीले आफ्नो बाबुलाई सुधार गर्न आग्रह गरेर परिवारप्रतिको जिम्मेवारी निर्वाहको प्रयास गरेकी छन् । यी किशोरी समाजभित्रकी उदाहरणमात्र हुन् । वर्षा नेपालीमात्र हैन कि, देशमा धेरै बालबालिका तथा किशोरकिशोरीहरुले कुलतको शिकार हुनुपरेको छ । वर्षाका बाबु लामो सयमदेखि कुलतमा फसेका छन् । परिवारको मुल व्यक्ति नै कुलतमा लागेपछि परिवारको बिजोग हुनु स्वभाविक नै हो । दैनिक मजदुरी गरेर खानुपर्ने परिवारमा हुने संकट कल्पना गर्न सकिन्छ । परिवारको मुलीले नै गति छाडे पनि छारोछारी तथा परिवारका सदस्यहरुको शिक्षा, स्वास्थ्यदेखि दैनिकीमा ठूलो समस्या आउने नै भयो । यही समस्याबाट वनस्पतिकी किशोरी वर्षा पीडित भएकी छन् ।
लामो समयदेखि रक्सीको लतमा फसेपछि परिवारले सुधारको आशमा पुनस्र्थापना केन्द्रमा पुर्याए पनि खर्चको व्यवस्थापन चुनौती हुने गर्दछ । उपचार त होला, तर त्यसका लागि लाग्ने खर्च कहाँबाट जुटाउने भन्ने पक्ष महत्वपूर्ण छ । खानै समस्या भएका परिवारलाई कुलतमा परेको सदस्यका लागि सुधार गृहमा लाग्ने खर्च कहाँबाट व्यवस्थापन गर्ने ? वर्षाको परिवार यतिबेला यही संकट झेल्दैछ । साना नानीहरुको अध्ययन खर्च जुटाउने कि खानाको व्यवस्थापन गर्ने वा बाबुको उपचार केन्द्रका लागि रकम जुटाउने ? आर्थिक श्रोत भएकाहरुलाई घटना र परिस्थिति सामान्य नै हो, तर ज्याला–मजदुरी गर्नेहरुका लागि यहाँभन्दा अर्को संकट विरलै हुन सक्छ । केहि सीप नलागेरै पनि होला वर्षाले उपचारका लागि सहयोग आह्वान गरेकी छन् ।
कुलतमा फसेकाहरु आफूबाहेक समाजमा अरु कोही छैन भन्ने गर्दछन् । रक्सी खाएपछि टोलछिमेकमा हल्ला गर्ने र जहाँ पनि सुत्ने, जे पनि बोल्ने गरेका घटना दैनिक हुने गरेका छन् । यस्तो गर्ने घरका सदस्यहरुप्रति छिमेकीको धारणा नकारात्मक हुने गरेको छ । उसलाई सुधार गर्ने दायित्व समाजको पनि हो । अनि परिवारमा कोही कुलतमा फसेको छ भने परिवारका सदस्यहरु समेत समाजबाट पीडित हुने गरेको छ । यस्तो व्यवहार सामाजिक मर्यादाभित्र पर्दैन । तर बाबुको व्यवहारका कारण छोराछोरी तथा श्रीमतिसमेत अपहेलित हुनुपरेको छ । दुःखमा परेको परिवारलाई सहयोग र उद्दार गर्नुपर्नेमा हेयको दृष्टिकोण आधुनिक र सभ्य समाजका लागि सुहाउने विषय होइन ।
वर्षाजस्ता धेरै बालबालिका तथा किशोरकिशोरीहरु आपतमा परेका छन् । उनीहरुलाई सहयोग गर्नु समाजको दायित्व हुन्छ । समाजका सदस्यले गर्ने सहयोग कहिलेसम्म र कति गर्ने भन्ने प्रश्न पनि छ । त्यसैले वर्षा र उनको बुवाजस्ता हजारौंका समस्याहरु समाधान गर्न राज्यकै तर्फबाट ठोस नीति र कार्यक्रम आवश्यक छ । पुनस्र्थापना केन्द्रहरुमा लाग्ने खर्चदेखि परिवारको लालनपालनको विषय व्यक्तिगतजस्ता देखिए पनि समाजकै लागि चुनौती हुन् । मानिस किन कुलतमा फस्छ भन्ने अध्ययन हुनुपर्दछ । फसेकाहरुलाई गरिने उपचार, आवश्यक पर्ने खर्चजस्ता कुरामा आर्थिक श्रोतका आधारमा उद्दार गर्ने व्यवस्था हुन जरुरी छ । ताकि आफ्नो भविष्यका लागि सोच्नुपर्नेहरुले बाबुआमाकै लागि चिन्तित हुनुपर्ने अवस्थाको अन्त्य गरिनु पर्दछ । नत्र बाबुहरु कुलतमा पर्ने त्यसको असर छोराछोरीले जीवनभर भोग्नुपर्ने अवस्था कायम नै हुनेछ ।