
हेटौंडाः आज बसन्त पञ्चमी अर्थात् सरस्वती पुजाको दिन नेपालमा राष्ट्रिय पुस्तक दिवस मनाइँदै छ । सरकारले औपचारिक रुपमा घोषणा नगरे पनि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले सरस्वती पुजाको दिनलाई राष्ट्रिय पुस्तक दिवसको रुपमा मनाउन सुरु गरेको हो । महासंघले विज्ञप्ति जारी गर्दै माघ २३ गते आइतबार सरस्वती पूजा तथा वसन्त पञ्चमीका दिनमा ‘नवौं राष्ट्रिय पुस्तक दिवस’ लाई भव्यरुपमा मनाउन आग्रह गरेको छ । पठन संस्कृतिको विकास गराउन विभिन्न रचनात्मक क्रियाकलाप गरेर राष्ट्रिय पुस्तक दिवस मनाउन देशभरका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुलाई महासंघका महासचिव शिवसागर शर्माले जारी गरेकोले विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।
महासंघले विभिन्न शैक्षिक संघसंस्थाहरुमा छलफल तथा गोष्ठी आयोजना गर्न पनि विज्ञप्तिमा भनेको छ । पुस्तक तथा स्टेशनरी व्यवसायीले आ–आफ्ना पसलहरु सजाउन र गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री उपहारस्वरुप प्रदान गरी उल्लासमय तरिकाले राष्ट्रिय पुस्तक दिवस सफल बनाउन विज्ञप्तिमार्फत् आग्रह गरेको हो । महासंघले विसं २०७० सालदेखि सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न सरकारसँग माग गर्दै आएको भए पनि सरकारले राष्ट्रिय पुस्तक दिवसको घोषणा गरेको छैन । पठन संस्कृतिको विकासका लागि राष्ट्रिय पुस्तक दिवसको घोषणा गरी त्यसलाई सरकारी स्तरबाटै मनाउन आवश्यक रहेको ठहर गर्दै महासंघले सरकारलाई घच्घच्याउने काम गरिरहेको छ । अन्तर्राष्ट्रियरुपमा भने हरेक वर्ष २३ अक्टोबरमा पुस्तक दिवस मनाइन्छ ।
पुस्तक दिवसकै अवसरमा समृद्ध समाज दैनिकले केही सरोकारवालासँग प्रतिक्रिया लिएको छ । हेटौंडा–६, चौघडास्थित प्रज्वल शिशु सदनका प्रिन्सीपल गणेशकुमार श्रेष्ठ पुस्तकलाई ज्ञानको भण्डार, ज्ञानको श्रोत मान्नुहुन्छ । मानिसले आफ्नो रुचि र चाहना अनुसारको पुस्तक पढ्दै गर्दा जीवन जिउनका लागि आवश्यक सीप, कला सिक्दै थप दक्षता हासिल गर्ने बताउनुहुन्छ । विज्ञान र प्रविधिको विकासले सिक्ने र सिकाउने प्रविधिमा व्यापक भिन्नता आएको उल्लेख गर्नुहुँदै श्रेष्ठ भन्नुहुन्छ, ‘विशेषतः संचार जगतमा आएको परिवर्तनले ज्ञान आर्जन गर्न पुस्तक मात्र होईन ईन्टरनेट र सामाजिक सञ्जाल पनि भरपर्दाे श्रोत हो भन्नेपुष्टि भैसकेको छ । वेभको कारणले पत्रपत्रिका, पुस्तकलाई क्रमशः विस्थापित गर्दै लगेको पाइन्छ ।
मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माविका प्रधानाध्यापक कमल फूयाँल पुस्तक पढ्नु भनेको देखिएका, नदेखिएका, भोगेका, नभोगेका आफ्ना, अरुका दुःखका कुरा पनि सुखको कुरा सबै विषयसँग प्रत्यक्ष रुपमा कल्पनामा मौन शब्दमार्फत भेट्न सकिने माध्यम ठान्नुहुन्छ । पुस्तक अध्ययन गर्ने गरेमा जीवनको वास्तविक यथार्थलाई नजिकबाट नियाल्न सकिने तर्क गर्नुहुन्छ । फुयाँल भन्नुहुन्छ, ‘तपाईं किताब पढिरहनु हुन्छ भने यो बुझ्नुस् कि तपाई आफैलाई पढिरहनु भएको छ ।’ पुस्तकको ज्ञानको अथाह स्रोत भएको उल्लेख गर्नुहुँदै पुस्तक विद्यार्थीका लागि मात्रै नभई हरेक क्षेत्रका व्यक्तिलाई जरुरी भएको फूयाँलको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘गहन चिन्तन अध्ययनमा लागेका दार्शनिक होस् या कुनै राजनीतिज्ञ, चाहे डाक्टर होस् या कुनै अर्थशास्त्री सबै सबैलाई आफ्नो क्षेत्रमा थप दक्षता हासिल गर्न उपयोग हुने महत्वपूर्ण माध्यम भनेका नै किताब हो ।’
पुस्तकालय अभियान समूह मकवानपुरका सदस्य जीवन शर्मा जति धेरै पुस्तक अध्ययन उति धेरै ज्ञान आर्जन हुने बताउनुहुन्छ । पढ्ने बानीले मानिसलाई तर्कशील, आलोचनात्मक चेत, खोजी गर्ने बानिको विकास गराउने शर्माको भनाइ छ । डेढ दशक अघिसम्म पनि प्रसस्त पुस्तक, पत्रपत्रिका पढ्ने लेख्ने बहस गर्ने गरिएको स्मरण गर्नुहुँदै शर्मा भन्नुहुन्छ, ‘घण्टौ पुस्तकालय अथवा पुस्तकमा घोत्लिन्थ्यौं । पुस्तकहरु पनि त्यत्तिकै गहकिला हुन्थे । हामीभन्दा अघिल्लो पुस्तासँग घरमा सानोतिनो पुस्तकालय नै हुन्थ्यो । समय अब त्यस्तो रहेन, प्रबिधिको विकास, सामाजिक सञ्जालको नाममा अहिलेको पुरै पुस्ता घेरिएको छ । सामान्य भन्दा सामान्य विषयमा हामी फेसबुक लगायतका सोसल मिडियालाई सुचना, ज्ञानको रुपमा लियौं । यसले पढ्ने संस्कृति हराउँदै गयो ।’
पछिल्लो समय कोभिड संक्रमणको जोखिमका कारण अनलाइन कक्षाको नाममा किताबमा भन्दा बढी ग्याजेटमा उपस्थिति बढी हुन थालेर पुस्तक अध्ययनको अभ्यासमा गिरावट आएको शर्मा बताउनुहुन्छ । पठन संस्कृतिको विकासका लागि पुस्तकालय सँगसँगै सरकारी, गैरसरकारी कार्यालय, कफिसप, चिया पसल, होटलहरुमा पनि फ्री वाईफाईको सट्टा फ्री पुस्तक पढ्ने व्यवस्था गर्नसके पुस्तकको प्रयोग र पढ्ने बानीको विकास गर्न सकिने शर्माको सुझाव छ ।
साहित्यकार शान्ति प्रियवन्दना पुस्तक अध्ययन गर्ने बानीले ज्ञान आर्जन हुनुका साथै मानिसलाई तनावबाट बाहिर निकाल्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुहुन्छ । यति मात्र नभएर जीवन बुझ्नका लागि समेत किताब पढ्न जरुरी रहेको शान्तिको ठम्याई छ । पुस्तकको अध्ययनले समाज, संस्कृति, भाषा, भेषभुषा, रीतिथीति आदिलाई हेर्ने मान्छेको दृष्टिकोणमा परिवर्तन ल्याउने उल्लेख गर्नुहुँदै शान्ति भन्नुहुन्छ, ‘किताब उपहार दिने बानीको विकास गर्न सके पठन संस्कृतिको पनि विकास गर्न सकिन्थ्यो । केटाकेटीहरुलाई सानैदेखि चक्लेटको बदलामा किताब दिने हो भने उनीहरुको बुद्धिविकासको प्रारम्भिक अवस्थादेखि नै किताबप्रति मोह जगाउन सकिन्छ ।’
पुस्तकालय अभियान समूह मकवानपुरका अर्का सदस्य सुशील राज गिरी अध्ययनले ज्ञानको दायरा बढाउने मात्र नभएर तनाव कम गर्ने, सञ्चार सीपमा सहयोग पुर्याउने, सकारात्मक सोचको विकास गराउन सहयोग पुग्ने बताउनुहुन्छ । अध्ययनले समाज, देश र संसारलाई हेर्ने नयाँ दृष्टिकोण दिने उल्लेख गर्नुहुँदै गिरी भन्नुहुन्छ, ‘पहिलेको तुलनामा पढ्ने बानीको विकास भएको छ भन्ने लाग्छ । धेरै लेखकले लेखेरै जीवन धान्न सक्ने अवस्थामा पुग्नु भनेको पुस्तक किन्ने प्रवृत्ति बढ्नु हो र पुस्तक किन्नु भनेको पठन संस्कृतिको पनि विकास भएको छ भन्न सकिन्छ ।’ पठन संस्कृतिको विकासका निम्ति फुर्सदको समयमा वयस्कले कम्तिमा पुस्तक लिएर मात्र बसिदिने हो भने बालबालिकाले पनि त्यसको अनुशरण गर्ने गिरी विश्वास व्यक्त गर्नुहुन्छ ।
मकवानपुर बहुमुखी क्याम्पसका पुस्तकालय प्रमुख मोहनप्रसाद ढकाल विकसित मुलुकमा पुस्तकको महत्व धेरै रहने बताउनुहुन्छ । अध्ययनको वातावरण र अवसरका कारण उनीहरू वैज्ञानिक, चिन्तक, चिकित्सक, दार्शनिक जन्माउन सफल भएको ढकालको दावी छ । प्रविधिमा फड्को मार्नु पनि ज्ञानको उपज भएको उल्लेख गर्नुहुँदै पुस्तकालय विज्ञान विषयमा स्नात्तकोत्तर उपाधि हासिल गर्नुभएका ढकाल भन्नुहुन्छ, ‘भित्रैदेखि रुचि नहुँदा पनि पुस्तक पढ्ने वातावरण छैन । सरकार नै यस विषयमा चेतनाहीन भएको महशुस हुन्छ । यसको प्रत्यक्ष घाटा फेरि देशले नै भोग्नुपर्छ । हाम्रो समाजमा पुस्तक पढ्ने मानिसलाई हतोत्साहित गरेको जस्तो देखिन्छ । नागरिक अज्ञानी हुनु भनेको देश अज्ञानी हुनु हो । यो विषयमा सरकारले सोच्नुपर्छ । विकास र समृद्धिको कुरा गरिरहँदा पुस्तक पढ्ने र पुस्तक खरिद गर्न सक्ने वातावरण सरकारले तय गरिदिनुपर्छ । लेखकलाई प्रोत्साहन गर्नुपर्छ ।’