हेटौंडाः नेवारी समुदायका किशोरीको बेलविवाहको कार्य हेटौंडामा सामूहिक रुपमा आयोजना गर्न थालिएको ५० वर्ष पूरा हुँदैछ । यो वर्षको बेलविवाह ५० औं सामूहिक बेलविवाह हो । २०२९ सालमा हेटौंडामा पहिलोपटक सामूहिक बेलविवाहको आयोजना गरिएको थियो ।
नेवारी परम्पराअनुसार बेलविवाह गर्न कम खर्च र विधिसम्मत आयोजना गर्नका लागि सामूहिकरुपमा बेलविवाहको कार्य सुरु गरिएको थियो । हरेक वर्ष बसन्त पञ्चमी अर्थात सरस्वती पुजाको दिन आयोजना गरिँदै आएको सामूहिक बेलविवाह कार्यक्रम यस वर्ष भने कोरोना महामारीका कारण बसन्त पञ्चमीमा आयोजना गर्न स्थानीय प्रशासनको स्वीकृति प्राप्त नहुँदा फागुनमा आयोजना गर्ने तयारी गरिएको इही यज्ञ सुवार्णकुमार बेलविवाह गुठीका प्रमुख हरिशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । गुठीले माघ २२ र २३ गते दुईदिनका लागि तय गरिएको सामूहिक बेलविवाहको कार्यक्रम आगामी फागुन ५ र ६ गतेका लागि तय गरिएको श्रेष्ठले बताउनुभयो ।
यस वर्षका सामूहिक बेलविवाहका लागि ९० किशोरीका परिवारले नाम दर्ता गराएका छन् । गुठीले दुई सय रुपैयाँको दर्ता शूल्क मात्रै लिने गरेको छ । गुठीले नेवारी विधिअनुसार बेलविवाह विधि पूरा गर्न काभ्रेको पनौतीबाट मूलपण्डित र सहायक पण्डित ल्याउने गरिएको छ । हेटौंडामा आयोजना हुने सामूहिक बेलविवाहमा मकवानपुर जिल्लाका मात्रै नभएर छिमेकी जिल्ला चितवन, बारा, पर्सासँगै रौतहटदेखि किशोरीहरु सामूहिक बेलविवाहमा सहभागी हुने गुठीका प्रमुख श्रेष्ठको भनाइ छ ।
२०२९ सालमा बिकुलाल तौजले र प्रेमलाल श्रेष्ठको अग्रसरतामा सुरु भएको सामूहिक बेलविवाह काठमाडौं उपत्यकाबाहिर हुने पहिलो सामूहिक बेलविवाह भएको गुठीका प्रमुख श्रेष्ठको भनाइ छ । आफ्नो समुदायको महत्वपूर्ण कर्म विधिसम्मत र सवैलाई सहज हुने गरी आयोजना गर्नु महत्वपूर्ण भएको स्मरण गर्नुहुँदै गुठीका प्रमुख श्रेष्ठ भन्नुहुन्छ, ‘२०४२ सालमा एकसाथ २ सय ८ किशोरीको सामूहिक बेलविवाह गरेका थियौं । यो मौलिक कर्मलाई हामीले निरन्तरता दिइरहँदा यसका लागि स्थानीय सरकारको सहयोगको पनि अपेक्षा गरिरहेका छौं ।’ सामूहिक बेलविवाहको कार्य आयोजना गर्न एक लाख रुपैयाँ भन्दा बढी खर्चका लागि समुदायभित्रै चन्दा उठाउने गरिएको छ ।
नेवारी समुदायमा बेलविवाह नगरी विवाह नै गर्न नमिल्ने मानिन्छ । ५ वर्षदेखि १२ वर्ष उमेर समूहका बालिका तथा किशोरीको बेलविवाह गर्ने प्रचलन छ । नेवारी सामुदायमा बेलविवाह नै प्रमुख विवाह भएकोले श्रीमान्को देहान्तपछि पनि नेवारी महिलालाई बिधवा नमानिने गुठीका प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।