१. हाम्रो शिक्षामा शिक्षकका चर्चा अधिक सुन्न र पढ्न सकिन्छ । शिक्षकले पढाएनन् सिकाएनन् । शिक्षक धेरै राजनीतिककर्मी भए । अभिभावक, शिक्षक र विद्यार्थी तिनै पक्षले चाहेमात्र शिक्षामा अपेक्षित उपलब्धि हुने टिप्पणी पनि कम छैन । सरकारकै नीति गतिलो नभएर शिक्षामा समस्या बढिरहेको भन्नेहरु पनि छन् । सरकार शिक्षकलाई दोष दिन्छ । शिक्षक सरकारकै कारणले हाम्रो शिक्षा बिग्रेको देख्छन् । एक अर्कामा दोषारोपण गर्दैमा वर्षौ बिति सकेको छ । शिक्षाविदहरुको किताब, लेख, अन्तर्वाता, विचार, भाषण, कक्षा, गोष्ठि, सेमिनार,आदिको अभाव पटक्कै छैन । यहि भिडमा तर भिन्न र ब्यवहारिक प्रस्तुती बोेकेको, शिक्षासंग विशेषगरी शिक्षकहरुका लागि उपयोगि लागेकाले “ उज्यालोतिर” नामको किताबले प्रवाह गरेको सन्देश प्रसंग यस आलेखमा उठान गर्ने प्रयत्न गरिएको छ । यो अनुमतीमा गरिएको निर्देशित समिक्षा भने होईन ।
२. शिक्षक भै सकेका र शिक्षक बन्ने मनसाय बोकेकाहरुले एक पटक पढ्नै पर्ने किताब रहेछ “ उज्यालोतिर ” । यद्यपि शिक्षकका लागि बजारमा धेरै किताबहरु भेटिन्छन् र धेरैमा विषयवस्तु समान पढन सकिन्छ । शिक्षाक्षेत्रमै जिवन खर्चिएका ब्यक्तिहरुको अनुभव र सन्देश बुझ्ने उद्धेश्यले यो किताब प्रकाशन भए पश्चात नै पढ्ने सोच बनाई सकेको थिएँ । शिक्षामा चार दशक भन्दा बढि प्रत्यक्ष संलग्नताका साथ खटेर सँगालिएको भण्डारबाट आफ्नो अनुभव बाहिर ल्याउनु भएका आदरणीय टिकाराम रेग्मी सरको यो किताबले सैद्धान्तिकता भन्दा ब्यवहारिकताको उजागर गरेको छ । प्रस्तुत उपन्यासमा सफल र उदाहरणिय शिक्षक सरु बाट लेखक स्वयम्ले प्रभावकारी शिक्षण विधिहरु प्रयोगमा ल्याउन आग्रह गरेको स्पष्ट छ । पूर्व शिक्षक भाष्करलाई मार्गदर्शक पात्रको रुपमा चित्रित गरिएको छ । एउटा विद्यालय, शिक्षक, विद्यार्थी, समिति, अभिभावक, स्वभाविक पात्र प्रस्तुत गरिएको यो उपन्यास सुखान्त नै छ ।
३. उपन्यासले ३९५ पेजमा ४९वटा उपशिर्षकहरु समेटेको छ । शिक्षाविदहरु प्रा.डा. विद्यानाथ कोईराला, प्रा.डा. मनप्रसाद वाग्ले, रमाकान्त सापकोटा सर र जितबहादुर शाह सरले ब्यक्त गर्नुभएका सारगर्भित तथा सटिक मन्तब्य नै समग्र किताबको सारकोलागि पर्याप्त छ भन्दा अत्युक्ति हुनेछैन । किताब कक्षा कोठामै केन्द्रित छ भन्नै पर्दछ । कक्षामा शिक्षकले विद्यार्थी केन्द्रित क्रियाकलापमा खासगरी शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन निर्बाह गरेका प्रयत्नहरु सान्दर्भिक र उपयोगी छन् । लेखकले उपन्यासमा प्रस्तुत पात्रहरुलाई गरेको न्याय अन्याय बारेको टिप्पणीले खासै महत्व राख्दैन भन्दै गर्दापनि “प्रयास” प्रति अन्याय भएको भन्नै पर्दछ । “सरु” को लगाव र समर्पणलाई गरिएको सम्मान अझ कम भयो भन्दा अत्युक्ति नहोला । “ भाष्कर ” लाई एकै विद्यालयको घेरा परिसरबाट उठाएर कम्तिमा जिल्लातह सम्म उदाहरण बनाईएको भए सुनमा सुगन्ध हुन्थ्यो कि ?
४. अधिकांश विद्यार्थीलाई पास चाहिएको छ । प्रायः अभिभावक आफ्ना वालवालिका स्कूल कलेज गएको र वर्ष पुगेपछि कक्षा चढेको हेर्न चाहन्छन् । धेर शिक्षकको ध्यान कोर्स सक्नेमा पाईन्छ । समिति र जनप्रतिनिधिका आफ्नै निजि स्वार्थ छन् । शिक्षा प्रशासन आदेश निर्देशमा रमाउँदै औपचारिकतामा बितिरहेकै हो । सरकारलाई समग्र शिक्षा ब्यवस्थाको बारेमा सोच्ने र गम्भिर बन्ने फुर्सद भएको भए शिक्षा ऐन २०२८ कम्तिमा पहिले नै बदलिन्थ्यो । हाम्रो शिक्षालाई समयानुकुल बनाउन प्रयत्न गर्ने नगण्य शिक्षाकर्मीहरुको आवाज र कोशिश बारम्बार ओझेलमा परेकै हो । स्तरिय शिक्षाको सबालमा विद्यार्थीको सिकाई नै प्रमुख पक्ष हो भन्नेमा टिकाराम सर अत्यन्तै गभ्मिर भएको तथ्य सरुको कक्षा क्रियाकलापमा स्पष्ट देख्न सकिन्छ । अनुभव र तालिमको कुनै अर्थ देखिएन जुन यथार्थ स्विकार्नै पर्दछ । शिक्षक तालिमका नाममा गरिएको लगानि नाम मात्र रहेछ भन्ने साबित भएको छ । दशकौं वर्ष शिक्षण पेशामा संलग्न तालिमप्राप्त ईन्दिरा, रन्जु, दिपक,खेम, ईश्वर, उमेश, रमेश, महेशहरुको भिडमा एकदिन पनि तालिम नलिएको सरु पहिलो कक्षामा नै एक परिपक्व शिक्षक देखिनुलाई विश्लेषणको विषय बनाउनै पर्दछ ।
५. प्रस्तुत उपन्यासका केहि हरफहरु यहाँ उल्लेख गर्नु सान्दर्भिक लाग्यो । जीवनसंग जोडिएको सिकाई परिपक्व हुन्छ । जुन दिनसम्म विद्यार्थीलाई आफ्नै छोराछोरी वा भाइबहिनि मान्न सक्छ्यौ त्यसदिन सम्म मात्र तिमी शिक्षक रहिरहन सक्नेछ्यौ । उद्धेश्यप्रति सचेत मानिस कहिल्यै हार्दैन । बाध्यताले नै सहि, म हिंडेको बाटो खराब छैन । इशारा सर्वब्यापि भाषा रहेछ , जो सुकैले बुझ्ने । किन चिन्ता ? यात्रा जारी राख्नु, एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ । मैले विद्यार्थीलाई घोटेर पिलाउने छैन, तिनलाई आफैं पिउन सक्ने बनाउने छु । सबैभन्दा पहिले आफ्ना विद्यार्थीलाई पढ्न बिर्सनेछैन । स्कूलमा पनि अर्की आमा भेटिछ । तिमी सिधा उभिईराख्नु, छाया बाङ्गो भएर केहि फरक पर्दैन । बाल मनोविज्ञान, मायालु ब्यवहार, आवश्यकताको पहिचान र रमाएर सिक्ने वातावरणको तयारी । जागिर मात्र खान त अरुकै बाटो …………शिक्षक हुने हो भने ? मूलबाटोको माग हुतिहाराले मात्र गर्छन् । अन्धकारमा गोरेटो कोर्ने अन्वेषक र गोरेटो भत्काएर सडक बनाउने इञ्जिनियर हो । विद्धानहरु ढिपी गर्दैनन् । शिक्षक भएर समयमा विद्यालय नजाने, उपस्थित भईहाले कक्षामा नजाने, गर्नैपर्ने नगर्ने, गर्नै नहुने गर्ने, हुँदा हुँदा विद्यार्थीको कापी समेत नहेरी अंक दिने गर्छन् । बालबालिकाको शिक्षामा पहिलो आमा, दोश्रो घरपरिवार अनि मात्र विद्यालयको स्थान आउँदो रहेछ । एउटा ढुंगो घनको पछिल्लो चोटले फुट्नुको अर्थ पहिलो चोटको भूमिका थिएन भन्ने होईन । बालकलाई क्यासेट प्लेयर वा भकारी सम्झेर भर्न नखोज्नु,बरु तिनैमा भएको चेत कोट्याईदिने प्रयत्न गर्नु ।
६. शिक्षण सिकाईमा शैक्षिक सामग्रीको भूमिकाको प्रयाप्त उजागर गरिएको प्रस्तुत किताबमा न्यून लागतका शैक्षिक सामग्रीहरु बिरालो तथा मुसा लगायतका जनावरका मास्कहरु, रंगिन बलहरु, कार्डबोर्ड, शब्दपत्तिहरु, मार्कर, अनि लागतै नपर्ने कक्षाकोठा र विद्यार्थी तथा शिक्षक स्वयम्ले सामग्रीको रुपमा मोबाईल फोनको आकर्षक प्रयोगबाट शिक्षण सिकाई रोचक बनेको छ । शैक्षिक सामग्रीको महत्वका बारेमा उक्त किताबको पेज २२९ बाट छुटाउनै नसकिने हरफहरु-“ म त बिना बसिला,रामो वा हथौडाको सिकर्मी भएछु । टेप, कैंची,सियो वा धागो नै नभएको सुचीकार भएछु । डाडुपन्यूँ, प्लेट चम्चा,वा थाल कचौरा नै नभएको भान्से भएछु । झाडु, कुचो नै नभएको सफाई मजदूर भएछु । ” खेल विधि, प्रश्नोत्तर विधि संगै प्रत्येक सिकाईका शब्दलाई गितको लयमा प्रस्तुत गरेर विद्यार्थीमा पर्याप्त उत्प्रेरणाको आँधीबेहरी नै श्रृजना गरिएको सबै शिक्षककालागि राम्रो खुराक बनेको छ । थोरै खाली समयको अधिकतम प्रयोग गरेर शैक्षिक सामग्री निर्माणमा ब्यस्त शिक्षक जो संग प्रत्येक कक्षा जानु अघि उद्धेश्य र तयारीमा रहनेले सधैं शिक्षणमा सन्तुष्टि हासिल गर्ने यथार्थको उपयुक्त उदाहरणको प्रस्तुतीमा कतै कमजोरी भेटिन्न । शिक्षक स्टाफमा शेयरि¨ र अन्तरक्रियाले पारेको समग्र सकारात्मक प्रभावलाई भुल्न सकिन्न ।
७. अन्तमा, विद्यार्थी पढ्न सिक्नै चाहँदैनन् र शिक्षकले पढाएनन् सिकाएनन् भन्नेहरुलाई यो किताब शिक्षकले नै पढाउने सिकाउने रहेछन् भन्ने सन्देश दिन सफल देखिन्छ । स्कूल कलेजमा पढाउने वातावरण नै छैन,भएन भन्नेहरुलाई पनि संघर्षशील लगावको परिणाम हेर्न आग्रह गरिएको छ । संस्थाले शैक्षिक सामग्री नै किन्दैन अनि के प्रयोग गरेर देखाउने भनेर नथाक्नेहरुका लागि आवश्यक खुराक दिनमा कमी भएको लागेन । म त धेरै पढेको मान्छे, तल्लो कक्षामा जाने हैन भन्नेहरुका लागि पनि उपयुक्त जवाफ दिन लेखकले बिर्सनु भएको छैन । तिन चार दशकको अनुभव भएकाको अगाडि हिजो आएकाको फुर्ती , नयाँ जोगीले ज्यादा खरानी घस्ने भन्नेहरुका लागि मुखैभरिको जवाफ भेटिन्छ । अंगे्रजीलाई अंग्रेजी मै बोलेर खुबै जान्ने देखाउन खोजेको भनेर हतारमा प्रतिक्रिया दिनेलाई यो किताबले दिएको जवाफ पर्याप्त छ भन्ने लाग्छ । जो कोहि शिक्षकले यो पढेर समयको राम्रो सदुपयोग महसुस गर्नेमा शंका छैन । टिकाराम सरबाट आगामी दिनमा यस्तै ब्यवहारिक र सामयिक श्रृजनाको अपेक्षा गर्दछु ।