मकवानपुर जिल्ला फुटबल संघले सोमबार जारी गरेको प्रेस विज्ञप्ति ।

हेटौंडाः स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप–२०७८ स्थगित भएको छ । कोरोना भाइरस संक्रमण दर बढेसँगै प्रतियोगिता स्थागित गरिएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुर गोल्डकप माघ १६ गतेदेखि आयोजना गर्न मकवानपुर जिल्ला फुटबल संघलाई तालिका उपलब्ध गराएको थियो । मकवानपुरका स्थानीय पालिकाहरुको प्रायोजनमा मकवानपुर जिल्ला फुटबल संघले मकवानपुर गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको छ । मकवानपुर जिल्ला फुटबल संघका महासचिव युनाल मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा वातावरण अनुकुल भएसँगै प्रतियोगिता आयोजना गरिने उल्लेख छ ।