मुख्यमन्त्री राजेन्द्र पाण्डे

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालयभन्दा बाहिरी कार्यक्रमहरुमा सहभागी नजनाउनुहुने भएको छ । कोरोना संक्रमण पुनः बढ्न थालेपछि यो सातामा मुख्यमन्त्री पाण्डेको सहभागिता रहने भनिएका बाहिरी कार्यक्रमहरुमा उहाँको सहभागिता रद्द गरिएको छ ।

मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत प्रसाद उपाध्यायले मुख्यमन्त्री पाण्डे सहभागी हुने निश्चित भइसकेका यो साताका १० वटा कार्यक्रमहरुमा मुख्यमन्त्री सहभागी नहुने जानकारी गराइसकिएको बताउनुभयो । पुस ३० गतेदेखि नै मुख्यमन्त्री पाण्डेले बाहिरी कार्यक्रमहरुमा सहभागी हुन छाड्नुभएको निजी सचिव उपाध्यायले जानकारी दिनुभयो ।

माघ ९ गतेका लागि भने मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा एक भवन उद्घाटनको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सहभागिता जनाउनुहुने भएको छ । न्यून संख्यामा सहभागी रहने कार्यक्रम तय भएकोले ईन्द्रसरोवर गाउँपालिकाको कार्यक्रममा भने मुख्यमन्त्री पाण्डेको सहभागिता रहने निजी सचिव उपाध्यायको भनाई छ ।