मानिसको शरीरलाई जीवित राख्न र शरीर सञ्चालन गर्न रगत अपरिहार्य हुन्छ । रगतकै सहायताबाट मानिसले श्वासप्रश्वास क्रिया सम्पन्न गर्दछ र शरीरलाई आवश्यक शक्ति प्राप्त हुन्छ । रगत मानिसको लागि जीवन हो । रक्तसञ्चार बिना मानवको जीवन सम्भव छैन । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले धेरै मानिसहरुले निःशुल्क रगत दान गर्दछन् । रक्तदान गर्नु भनेको अरुको ज्यान जोगाउनुमात्र नभएर चाहिएको समयमा सहजरुपमा रगत पाउनु हो । तर, सहजरुपमा भनेको समयमा रगत नपाउने समस्याकै कारण कतिपयले ज्यान गुमाउनु परेको यथार्थलाई मध्यनजर गर्दै मकवानपुरका केही पालिकाहरुले आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । जुन कार्य स्वागतयोग्य छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका र ४ वटा गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य उपचारका क्रममा आवश्यक रगत निःशुल्क उपलब्ध गराउने भएको छ । ती पालिकाहरुले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेर रक्तसञ्चार केन्द्र (ब्लड बैंक) हेटौंडामार्फत् आफ्ना पालिकाभित्रको नागरिकलाई आवश्यक परेको समयमा निःशुल्क रगत उपलब्ध गराउने भएको हो । हेटौडा उपमहानगरपालिकासँगै बकैया, मकवानपुरगढी, मनहरी र बागमती गाउँपालिकाले आफ्नो पालिकाका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । प्रतियुनिट रगतको ८ सय ५० रुपैयाँ रेडक्रसलाई भुक्तान गर्नेगरी पालिकाहरुले सम्झौता गरेका हुन् । नेपालमा रेडक्रस सोसाइटीले विभिन्न जिल्ला तथा शहरहरुमा रक्तसञ्चार केन्द्र स्थापना गरी सकेसम्म सहज र निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । तर, कतिपय दुर्लभ समूहका रगतको अभाव हुने र चाहिएको समयमा तत्काल रगत उपलब्ध नहुँदा कयौं मानिसले ज्यान गुमाउन परिरहेको छ ।
मानिसको शरीरमा तरलको रुपमा रहने रगत रातो तथा सेतो रक्तकोष र प्लेटलेट्स मिलेर बनेको हुन्छ । रातो रक्तकोषले शरीरमा अक्सिजन परिवहनमा सघाउँछ भने सेतो रक्तकोषले रोगविरुद्ध लड्ने क्षमताको विकास गर्छ । यसैले रगतबिना शरीरमा श्वासप्रश्वास क्रिया हुन सक्दैन । मानिसको शरीरमा रगत भएरमात्र पनि हुँदैन, शुद्ध रगत आवश्यक पर्दछ । विभिन्न दुर्घटना, चोटपटक, घाउ, रोग आदिको कारणबाट मानिसको शरीरमा रगतको कमी हुने गर्दछ । यस्तो अवस्थामा तत्काल शरीरमा रगत दिन सकिएन भने मानिसको ज्यान पनि जानसक्छ ।
स्वास्थ्य उपचारका क्रममा रगतको आवश्यकता पर्दा पैसाकै अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले पालिकाहरुले निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गर्नुलाई स्वागतयोग्य कदम मान्नुपर्दछ । निःशुल्क रगतका लागि रेडक्रस सोसाइटी मकवानपुरले समेत पालिकाहरुसँग समन्वय गरेकोमा सकारात्मकरुपमा लिनुपर्छ । आगामी दिनमा जिल्लाका सबै पालिकाका बासिन्दाले उपचारका लागि आवश्यक परेको समयमा निःशुल्क रगत पाउने व्यवस्थाका लागि रेडक्रसले समन्वयकारी भूमिका निर्वाह गर्नु आवश्यक छ । मकवानपुरका पालिकाहरुको यस्तो उदाहरणीय कार्यलाई देशभरका सबै पालिकाहरुले अनुसरण गरेमा सबै नेपाली नागरिकले सहज र सुलभरुपमा रगत प्राप्त गर्नेथिए । निःशुल्क रगतको व्यवस्थासँगै रक्तदानलाई समेत प्रोत्साहित गरेर सबै प्रकारका रगतको अभाव हुन नदिनेतर्फ सम्बद्ध निकायहरु थप जागरुक बन्न सकेमा अझ प्रभावकारी हुने देखिन्छ ।