हेटौंडाः मकवानपुरका १६ जना साहित्यकारहरुको टोली सिन्धुली भ्रमणमा गएका छन् । मकवानपुर–सिन्धुली साहित्यिक यात्रा गर्दै मकवानपुरे साहित्यकारहरु २ दिनका लागि सिन्धुली गएका हुन् ।
कलाघर संस्थाको आतिथ्यमा माघ १ गते सिन्धुली पुगेका साहित्यकारहरुले सिन्धुली जिल्लाको कला, संस्कृतिको अवलोकन गरेको साहित्यकार चिरञ्जीवी लामिछानेले बताउनुभयो । माघ १ गते कलाघरमा सिन्धुलीको कला, संस्कृति सम्बोधन गर्ने कलात्मक प्रस्तुति, साहित्यिक कार्यक्रमहरु प्रस्तुत भएका थिए । यसैगरी साँझ वनभोजको समेत आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । वनभोजमा स्थानीयस्तरमा उत्पादित परिकारहरुका साथै माघी पर्व विशेष परिकारहरु रहेका थिए ।
यस्तै साँझमै नौमती बाजा, खैजडी भजन लगायतका साँस्कृतिक प्रस्तुती पनि रहेको उहाँले बताउनुभएको छ । कलाघरले तयार पारेको कला संग्रहालय परियोजनाको बारेमा समेत जानकारी लिँदै सिन्धुलीगढी दरबार पनि अवलोकन गरिएको लामिछानेले बताउनुभयो । भ्रमणमा रहेका मकवानपुरे साहित्यकारहरुले हेटौंडामा पनि यस किसिमका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
भ्रमणमा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, आधुनिक नेपाली गजल अभियानका संयोजक यमनदेव उत्प्रेरक, साहित्यकारहरु सिएम रिमाल, मुना अर्याल, विश्वनाथ सञ्जेल, सुभद्रा हुमागाई, संप्रस पौडेल, गंगा सापकोटा, कुवेर पराजुलीको सहभागिता रहेको छ ।