हेटौंडाः मकवानपुरमा पुरानो नारायणी यातायात कम्पनी प्रालि मकवानपुरले कोभिड ओमीक्रोन भेरियन्टबाट बच्न र बचाउनका लागि सचेतनामूलक पर्चा तथा मास्क वितरण अभियान सुरु गरेको छ । अनिवार्य मास्क लगाऔं, स्वास्थ्य मापदण्ड पालना गरौँ भन्ने उद्देश्यले अभियान सुरु गरिएको हो । डिसिसीएमसीको निर्णय अनुसार शुक्रबारबाट मकवानपुरमा सार्वजनिक तथा यातायात स्थलहरुमा माक्स प्रयोग अभियानलाई सुरु गरिएका छन् ।
कोभिड ओमिक्रोन भेरियन्ट संक्रमणबाट बचौं र बचाऔं, सामाजिक दुरी कायम गरौं, अनावश्यक भेटघाट नगरौं, पटक पटक साबुन पानीले हात धुने र सेनिटाइजर लगाउने नाराहरुका पर्चाहरु बाँडिएका छन् । यसैगरी एकता र सहकार्य नै बल हो, शक्ति हो, मानव जगतमा आएको कोभिड विरुद्ध एकताबद्ध बनौं, एकता र सहकार्यबाट कोभिडलाई परास्त गर्न सकिन्छ भन्ने सचेतनासहित पर्चा तथा मास्क वितरण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर सामुदायिक प्रहरी उपकेन्द्र मकवानपुरको समन्वयमा भएको कार्यक्रममा उपकेन्द्रकै अध्यक्ष प्रदिप कडेँलको सभाध्यक्षतामा भएको थियो । अभियानमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमूख अतिथ्यता रहेको थियो । पाण्डेले हेटौंडा— १० स्थित बसपार्कमा रहेका पसल तथा बसका यात्रुहरुलाई मास्क वितरण गर्नुहुँदै मास्क अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभयो । सचेतनामूलक पर्चा र मास्क वितरण अभियानलाई मकवानपुरका ९ वटा स्थलहरुमा सन्चालन गरिने भएका हुन् ।
भीडभाडका कारण कोभिड संक्रमणका जोखिम बढ्ने हुनाले मास्क वितरण अभियानलाई तिव्रता दिइएको उहाँको भनाइ छ । यस्तै जिल्लाभित्र खोपको दायरा बढाइ सार्वजनिकस्थलहरुमा आवतजावत गरिने सर्वसाधारणका लागि अनिवार्य खोप कार्ड प्रयोगको तयारी भइरहेको जानकारी दिनुभयो । अभियानमा प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, यातायात कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।