हेटौंडाः मकवानपुरको ५ वटा पालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य उपचारका क्रममा आवश्यक रगत निशूल्क उपलब्ध गराउने भएको छ । निशूल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले पालिकाहरुसँथ सम्झौता गरेको छ । रेडक्रस मकवानपुर र पालिकाबीच भएको सम्झौताअनुसार रक्तसञ्चार केन्द्र हेटौंडाबाट आवश्यक रगत निशूल्क प्राप्त गर्न सकिनेछ ।
मकवानपुरको हेटौडा उपमहानगरपालिकासँगै बकैया, मकवानपुरगढी, मनहरी र बागमती गाउँपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशूल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । रेडक्रससँगको सम्झौताअनुसार पालिकाहरुले रगतको प्रतियुनिट ८ सय ५० रुपैयाँ भुक्तानी गर्नेछ । स्वास्थ्य उपचारका क्रममा आवश्यक पर्दा रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनी पालिकाहरुले निशूल्क रगतको व्यवस्था गरेको हो ।
निशूल्क रगत कार्यक्रमलाई अन्य पालिकामा पनि विस्तार गर्ने योजना रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका मन्त्री पिताम्बर बास्तोलाले जानकारी दिनुभएको छ । मकवानपुरमा सवैभन्दा पहिले बकैया गाउँपालिकाले निशूल्क रगत उपलब्ध गराउन सुरु गरेको थियो । पछिल्लो पटक बिहीबार मकवानपुरगढी गाउँपालिकासँग सम्झौता भएको हो । मनहरी र बागमती गाउँपालिकासँग औपचारिक रुपमा सम्झौता भइसकेको छैन । सम्झौता भइनसके पनि रगत उपलब्ध गराउने कार्य भने सुरु भइसकेको मन्त्री बास्तोलाले जानकारी दिनुभएको छ ।