हेटौंडाः बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयको निरीक्षण गर्नुभएको छ । मन्त्री लामाले अस्पताल र निर्देशनालयले कोरोना जोखिम नियन्त्रणका लागि गरेका तयारीबारे जानकारी लिनुभएको मन्त्रीका सचिवालयले जानकारी दिएको छ ।

मन्त्री लामाले हेटौंडा अस्पतालको नयाँ भवन, कोभिड वार्ड, अक्सिजन प्लान्ट र सेवा प्रवाहबारे निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि मन्त्री लामाले कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै पूर्व तयारीको काम अघि बढाउन निर्देशन दिनुभएको छ । उहाँले स्वास्थ्यकर्मीहरुले कोभिडको अघिल्लो चरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनका लागि पनि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । प्रदेश सरकार कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिवद्ध रहेको भन्दै उहाँले अस्पताल टिम पनि सोही अनुसार प्रतिबद्ध हुन निर्देशन दिनुभयो ।

हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रामचन्द्र सापकोटासहितको टोलीले अस्पतालले गरिरहेका कामहरुबारे मन्त्रीलाई जानकारी गराएको थियो । यस्तै, स्वास्थ्य निर्देशनालयको निरीक्षण गर्दै मन्त्री लामाले अझै पनि बागमती प्रदेशका कतिपय जिल्लामा लक्ष्य अनुसार खोप अभियान संचालन हुन नसकेको भन्दै यसका लागि प्रभावकारी ढंगले अभियान संचालन गर्न निर्देशन दिनुभयो । खोप अभियानका लागि जिल्लाका सबै स्वास्थ्य इकाईहरुले जनचेतनामुलक गतिविधि गरेर नागरिकलाई खोप अभियानमा आकर्षित गर्नुपर्नेमा मन्त्री लामाको जोड थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ लगायतले निर्देशनालयले खोप अभियान र स्वास्थ्य सेवाको क्षेत्रमा गरिरहेका कामहरुको बारेमा जानकारी गराउनुभएको छ ।