हेटौंडाः देशकै अगुवा कम्युनिष्ट भक्तबहादुर श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ । हेटौंडा–१८, हर्नामाडीस्थित गुम्बाडाँडा पार्कमा बामपन्थी नेता श्रेष्ठको शालिक मंगलबार अनावरण गरिएको हो । एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडा अध्यक्ष अनिलकुमार बानियाँले शालिकको अनावरण गर्नुभएको हो ।
वि.सं. १९९० असोज ३ गते मकवानपुरको मकवानपुरगढीमा जन्मनुभएका श्रेष्ठको २०६८ पुस २७ गते निधन भएको थियो । श्रेष्ठको स्मृति दिवसको दिन पारेर शालिक अनावरण गरिएको हो । मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अग्रसरतामा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा श्रेष्ठको शालिक तयार पारिएको हो । गुम्बाडाँडास्थित श्यामप्रसाद शर्मा स्मृति पार्क परिसरमा श्रेष्ठको शालिक निर्माण गरिएको छ ।
दुई दशकभन्दा बढी समय भूमिगत जीवन बिताउनुभएका श्रेष्ठले २००७ सालदेखि मकवानपुरगढीमा स्वग्राम सुुधार जनसंगठन परिषद् गठन गरेर गाउँको शोषण, अत्याचार र जातीय विभेदविरुद्धका काम अगाडि बढाउनुभएको थियो । भक्तबहादुर श्रेष्ठको अर्धकदको शालिक अनावरण कार्यक्रममा स्वर्गीय भक्तबहादुर श्रेष्ठका दुई छोरी, अफन्त र हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलको पनि उपस्थिति रहेको थियो ।
शालिक अनावरणपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले राजनीतिक अभियानकै क्रममा भेट हुँदा श्रेष्ठले पढ्नुपर्छ भन्नुभएको कुरा स्मरण गर्नुभयो । हेटौंडा उपमहानगरको पूर्वीक्षेत्रको गहनाको रुपमा विकसित हुँदै गरेको गुम्बाडाँडाको विकासमा उपहानगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मेयर महतले व्यक्त गर्नुभएको छ । शालिक निर्माणका अभियन्ता प्रताप विष्टले राजनीतिक अगुवा मात्रै नभई सामजिक अभियान्ता समेत भएकोले श्रेष्ठको सम्मानमा शालिक निर्माण गर्न अग्रसर भएको बताउनुभयो ।