अध्यक्षका आकांक्षी बद्रिप्रसाद लम्सालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत जारी गर्नुभएको प्रेस विज्ञप्ति ।

हेटौंडाः नेकपा एमाले मकवानपुरको अध्यक्षका आकांक्षी बद्रिप्रसाद लम्सालले आफ्नो उम्मेदवारी यथावत रहेको जनाउनुभएको छ । आइतबार बिहान निर्वाचन मण्डलका अध्यक्षले सर्वसम्मत जिल्ला नेतृत्व चयन भएको घोषणा गरेपछि आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै लम्सालले पार्टीको जिल्ला कमिटी अध्यक्षमा आफ्नो उम्मेदवारी यथावत रहेको उल्लेख गर्नुभएको हो ।

आइतबार बिहान निर्वाचन मण्डलका अध्यक्ष रामेश्वर रानाले एकालाल श्रेष्ठको अध्यक्षतामा १ सय ५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको घोषणा गर्नुभएको थियो । आइतबार दिउँसो ३ बजे अध्यक्षका आकांक्षी लम्सालले आफ्नो उम्मेदवारी यथावत रहेको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको छ । आफूलगायत केही साथीहरुको उम्मेदवारी कायमै रहँदा पार्टी नेतृत्वले सहमति भएको भन्दै गरिएको घोषणा प्रक्रियाप्रति लम्सालले आपत्ति जनाउनुभएको छ ।

अध्यक्षका आकांक्षी बद्रिप्रसाद लम्सालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत जारी गर्नुभएको प्रेस विज्ञप्ति ।

‘निर्वाचन कमिटीले विधिपूर्वक निर्वाचन गराउन गइरहेको अवस्थामा नेतृत्वबाट हस्तक्षेप गरी पार्टीको विधान, निर्वाचन निर्देशिका समेतको ठाडो उल्लंघन गरी केन्द्रीयता लादेर गरिएको घोषणाले आम प्रतिनिधिको मनोभावनामा समेत गम्भीर आघात पुगेको छ’, लम्सालले आइतबार दिउँसो जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

उम्मेदवारहरुबीच राजीखुसीले हुने सहमति हुन नसकेको अवस्थामा निर्वाचनबाट नेतृत्व निर्माण स्थापित विधि भएको स्मरण गराउनुहुँदै लम्सालले स्थापित विधि र अभ्यासभन्दा बाहिरबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चँदै गरिएको घोषणालाई मान्यता दिन नसकिने उल्लेख गर्नुभएको छ ।