हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–१, माझगाउँस्थित सूर्य माविमा तीन दिने स्काउट फ्रेन्डसीप क्याम्प सुरु भएको छ । बागमती गाउँपालिका १ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा सूर्य माविको आयोजनामा क्याम्प सुरु भएको सूर्य माविका पूर्व प्रधानाध्यापक प्रमोद राईले जानकारी दिनुभएको छ ।

क्याम्पमा बागमती गाउँपालिकाका तीन विद्यालय र थाहा नगरपालिकाका दुई गरी पाँच विद्यालयका १ सय ६६ जना विद्यार्थी सहभागी रहेको क्याम्प संयोजक तथा स्काउट शिक्षक राजकुमार राईले जानकारी दिनुभयो । हिजो शुक्रबारदेखि सुरु भएको क्याम्प भोलि आइतबारसम्म सञ्चालन हुनेछ । क्याम्पको अवधिमा टनेल, वाकिङ अन द ब्याम्बो, टच द टार्गेट, टायर क्रसिङ, बिम क्लाइम्बिङ, सुपर म्यान, ओमेगा जम्प, मंकी ब्रिज, टायर चिम्नी लगायतका नौ प्रकारका साहसिक खेलहरुको अभ्यास गराउने जनाइएको छ । यस्तै डोरी, हाजिरीजवाफ, नृत्य, मार्च पास लगायतका चार प्रकारका प्रतियोगिता गरिरहेकोे क्याम्प निर्देशक नरेश अवालेले जानकारी दिनुभयो ।